रुकुम पश्चिम । वर्षौंदेखि अलपत्र अवस्थामा रहेको पितिवाङ खोलामा पुल निर्माण सुरु भएको छ । राप्ती राजमार्गअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिका-११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै पुल निर्माणले गति लिन थालेको हो ।
यसअघि निर्माणको जिम्मा लिएको संरक्षण निर्माण सेवा चितवनले समयमा काम सम्पन्न नगरेपछि नयाँ निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको हो । संरक्षण निर्माण सेवा र सडक डिभिजन कार्यालय चौरजहारीबीच दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७६ असार ८ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार काम सम्पन्न नगरेपछि गत मङ्सिरमा यति बिल्डर्सले पुल निर्माण सुरु गरेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख इञ्जिनियर तेजस्वी शर्माले जानकारी दिए । ५ करोड २८ लाख लागतमा पुल निर्माणको सम्झौता भए हो ।
यसअघिको निर्माण कम्पनीले पुलको एकतर्फी पिलर मात्र उठाएर अलपत्र छोडेको थियो । नयाँ कम्पनीले जिम्मा लिएसँगै दुवैतर्फ पिलर उठाएर ढलानको तयारी भइरहेको इञ्जिनियर शर्माले बताइन् ।
उनका अनुसार पुल सिङ्गल स्पानको ३५ मिटर लामो रहनेछ । अहिले तीव्र गतिमा निर्माण भइरहेका समयमा सकिने अनुमान गरिएको छ । चालु आर्थिक वर्षभित्र सबै प्रक्रिया पूरा गरेर सवारी आवतजावतको व्यवस्था गरिने निर्माण कम्पनीका सञ्चालक भीमराज केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्