काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र अनुमति (लाइसेन्स) खारेज गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको जनाएको हो ।
राष्ट्र बैंकले नमस्ते रेमिट इन्टरनेशनल प्रालि, मोर्डन रेमिट्यान्स प्रालि र भाटभटेनी मनि ट्रान्सफर प्रालिको लाइसेन्स खारेज गरेको हो । विप्रेषण विनियमावली २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उपविनियम ५ बमोजिम यी तीन कम्पनीको लाइसेन्स खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विप्रेषण कारोबारको सिलसिलामा उक्त कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र जानकारी गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त नआएमा बैंक जमानत फुकुवा हुनेछ ।
खारेज हुने उपरोक्त विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाबमिलान हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्