सिरहा । सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा लक्ष्यभन्दा बढी राजस्व गरेको छ । सो अवधिमा कार्यालयले ५ करोड पाँच लाख ४० हजार राजस्व सङ्कलन गरेको हो ।
प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाका अनुसार कार्यालयले पाँच महिनामा रु चार करोड ८८ लाख ५२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयले सो अवधिमा वार्षिक लक्ष्यको ४१ दशमलव ६७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको साउन महिनामा ९७ लाख ९५ हजार, भदौमा १ करोड सात लाख ७२ हजार, असोजमा रु एक करोड दुई लाख ७६ हजार, कात्तिकमा १ करोड चार लाख १७ हजार र मङ्सिरमा ९२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।
गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा २ करोड ७७ लाख ४७ हजार राजस्व वृद्धि भएको छ । कार्यालयका अनुसार गत आवको पाँच महिनाको अवधिमा रु दुई करोड ३८ लाख ९३ हजार राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य १२ करोड १२ लाख ९२ हजार रहेको छ । सिरहामा माडरस्थित सिरहा भन्सार, बरियापट्टीस्थित छोटी भन्सार र भगवानपुरस्थित ठाडी भन्सार कार्यालय रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्