Shikhar Insurance
National Life

धितोपत्र बोर्ड अध्यक्षमा श्रेष्ठ नियुक्तिपछि १०० अंकले घट्यो सेयर बजार, किन लिएन लय ?

प्रमिला भट्ट
२०८१ पुष ८, सोमबार ०९:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएर आएदेखि नै सेयर बजारले लय लिन सकेको छैन । श्रेष्ठ नियुक्ति भएर आएको २६औं दिनसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०० अंकले घटेको हो ।

श्रेष्ठ अध्यक्ष भएको २०८१ मंसिर १० गते नेप्से सूचक २६८३.२४ अंकमा थियो । यसपछि पुस ७ गते नेप्से परिसूचक घटेर २५८३.८३ मा आइपुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत ११ महिनापछि बोर्डमा श्रेष्ठ अध्यक्षमा नियुक्ति भएर आए बजार सुधार हुने अनुमान गरिएको थियो । बोर्ड अध्यक्ष नियुक्तिमा चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेपछि बजारमा लगानीकर्ताहरुको मनोबल गिर्दै गएको छ । लामो रस्साकस्सी पछि पुर्व अनुमान गरिए बमोजिम नै श्रेष्ठ बोर्ड अध्यक्षमा आएपछि बोर्डले बजार विकास भन्दा नीतिगत भ्रष्टाचार मौलाउन सक्ने भन्दै लगानीकर्ताहरु तर्सित भएका हुन् ।

नयाँ अध्यक्षको पदभार ग्रहण गर्ने बित्तिकै अध्यक्ष श्रेष्ठले पुरानै योजना अनुसार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रदान गर्ने बताइसकेका छन् । स्रोतका अनुसार श्रेष्ठले हिमालयन स्टक एक्सचेन्जलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्ने, जगदम्बा ग्रुपको काम छिटो-छिटो टुङग्याउने उनी निकटस्थहरुसँग बताउँदै आएका छन् ।

अध्यक्ष श्रेष्ठले बजार सुधारको काम अघि बढाउन ढिलाई गर्दा बजारले गति लिन नसकेको लगानीकर्ता छोटेलाल रौनियार बताउँछन् । सिंहदरबारसँग कुरा गर्दै लगानीकर्ता रौनियारले भने,‘बोर्डमा आउने बित्तीकै सबै काम सम्पन्न हुन्छ भन्ने छैन् तर उहाँले छिट्टै राम्रो काम गर्छु मात्रै भन्नुभयो तर पुरा गर्नुभएन यस्तै यस्तै कारणले गर्दा लगनीकर्ताको मनोवल पनि कमजोर भएको छ ।’

उनले थपे ‘भारतीय गुप्तचर निकाय ‘र अ’ को (रिसर्च एण्ड एनालिसिस विङ) का पुर्व एजेन्ट बताउने लक्की बिष्टले एक महिनामा नेपालको सरकार ढल्ने भन्दै अन्तर्वार्ता दिएपछि त्यसको असर नेपाली बजारमा देखा परेको हो, बजारमा चलेको राजनितिक परिवर्तनको हल्लाले चौतर्फी रुपमा सहज अवस्था रहेपनि नेपाली बजारले स्थायित्व पाउन सकेको छैन ।’ सरकार परिवर्तन, प्रधानमन्त्री अर्थमन्त्री बीचको मतभेद लगायतको समाचारका कारण समेत बजार नकारात्मक भएको रौनियारको तर्क रहेको छ ।

अर्का लगानीकर्ता राधा पोखरेलले बोर्ड अध्यक्षको कारण बजार घट्ने बढ्ने भन्दा पनि रोकिएको बजार सुधारको काम अघि बढ्नु पर्ने बताउँछन् । उनले भने,‘बोर्डको अध्यक्षको कारणले बजार घट्ने बढ्ने भन्दा पनि उहाँले विस्तारै रोकिएका कामहरु गर्दै जानु भएपछि बजारले लय लिनेछ अहिले त मात्रै सरकार परिर्वतन हुने हल्ला, अर्थमन्त्री फेरिने जस्ता बजारमा आएका नकारात्मक कुराहरुले बजारलाई असर पारेको हो ।’

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्