काठमाडौं । चालु आवको मंसिर महिनामा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) आयात २७.४२ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा इभी आयात १ हजार ११ वटा अर्थात् २७.४२ प्रतिशतले बढेको हो ।
चालु आवको मंसिर महिनासम्म ४ हजार ६ सय ९७ वटा इभी नेपाल आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा यस्तोे आयात ३ हजार ६ सय ८६ वटा भएको थियो । मंसिर महिनामा ५१ किलोवाटका इभी गाडी १ हजार ४ सय ९० वटा वटा भित्रिएको छ भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी २ हजार ७ सय ५७ वटा नेपाल आयात भएको छ ।
त्यसैगरी, भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका इभी ४ सय ४३ वटा नेपाल भित्रिएको छ । यस्तै, २०१ किलोवाटदेखि ३०० किलोवाटसम्मका ५ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ ।
यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले मंसिर महिनासम्म ११ अर्ब २७ करोड २१ लाख २६ हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सो मार्फत ६ अर्ब ९६ करोड २८ लाख ४३ हजार रुपैयाँ राजस्व उठाएको छ ।
कुन देशबाट कति आयात भयो ?
नेपालमा ईभी सवारीको प्रयोग बढेसँगै आयतमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल इभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ ।
चालु आवको मंसिर महिनासम्ममा चीनबाट मात्रै ३ हजार ५ सय ८९ वटा इभी नेपाल आयाता भएको छ । आयात हुने इभीमा १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका ४३३ वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका २ हजार २९७ वटा, ५० किलोवाट क्षमता भएको ८ सय ५४ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटका ३ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा रहेका छन् ।
यस्तै, ५ महिनामा भारतबाट १ हजार ९६ वटा इभी नेपाल भित्रिएका छन् । भारतबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४ सय ६० वटा, ५० किलोवाटका ६ सय ३६ वटा नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । त्यसैगरी, जर्मनीबाट ९ वटा, संयुक्त राज्य अमेरिकाबाट २ वटा, कोरिया रिपब्लिक अफबाट १ वटा इभी नेपाल आयात भएको छ ।
पेट्रोलियम र डिजेल गाडीलाई पछि पार्दै इलेक्ट्रिक गाडी आयात बढेको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्