काठमाडौं । जनकपुर भन्सार कार्यालय जनकपुरधाम अन्तर्गत लग्मा जटही छोटी भन्सार कार्यालयका चार जना कर्मचारी निलम्बित भएका छन् । राजस्व छलि हुनेगरी माल सामान जाचपास गरेको भन्दै राजस्व अनुसन्धान पथलैयाले उच्च अदालत जनकपुरको अस्थायी इजलास, वीरगञ्जमा मुद्दा दायर गरेपछि निलम्बित भएका हुन् ।
कार्यालयले पुस ३ गते मुद्दा दायर गरेको हो । कुनै पनि राजस्व चुहावटको ४५ लाख भन्दा बढीको बिगोमा कर्मचारीहरुलाई समेत मुद्दा लाग्ने कानुनी व्यवस्था छ ।
राजस्व अनुसन्धान कार्यालय पथलैयाले अर्थ मन्त्रालयलाई पत्राचार गरेपछि बिहिबार (पुस ४ गते) अर्थ मन्त्रालयले निलम्बन गरेको हो । निलम्बन हुनेहरुमा अधिकृत रमेश नेपाली, नायाब सुबाहरु चमन देवकोटा, चेत नारायण श्रेष्ठ र नविन कुमार पाण्डे रहेका छन् ।
जनकपुर भन्सार कार्यालयबाट २०८१ असोज ६ गते जाँचपास भएका HR38Z4112 र HR38AF0631 नम्बरको मालवाहक ट्रकहरुमा भएका कुर्ता सुरुवाल लगायतका मालवस्तुहरुको राजस्व अनुसन्धान कार्यालय पथलैया, बाराले भौतिक निरीक्षण गर्दा प्रज्ञापन पत्रमा घोषणा भएका भन्दा फरक मालवस्तुहरु फेला परेको थियो ।
भारतिय सैनिकबाट सेवा निवृत्त भई नेपाल फर्किएका ३४ जनाले आफ्ना झिटी गुण्टाको नाममा राजस्व छलि गर्ने उदेश्यले विभिन्न सामानहरु ल्याएको अनुसन्धान कार्यालयले जनाएको छ ।
सोको विस्तृत अनुसन्धाबाट भारत निवासी महम्मद आलम, शेरबहादुर सिंह, नुवाकोटका अमृत कुमार श्रेष्ठ, लमजुङका महेन्द्र गुरुङ, गुल्मीका रुद्र प्रसाद श्रेष्ठ, र हरि कृष्ण आले समेत २५ जना भूतपूर्व भारतीय गोर्खा सैनिकहरु गरी जम्मा ३४ जना प्रतिवादीहरु विरुद्ध राजस्व चुहावटको अभियोगमा मुद्दा दायर भएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २ (१) बमोजिम ५ करोड ३६ लाख बिगो कायाम गरेको छ । यस्तै ऐनको दफा २३ (१) बमोजिम जफत गरी विगोको शतप्रतिशतले हुने जरिवाना रकम ५ करोड ३६ लाख गरी जम्मा रकम १० करोड बिगो माग दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्