काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड उड्नुअघि मन्त्रालयका दुबै सचिवलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पुगेका छन् । अर्थमन्त्री र प्रधानमन्त्रीबिचको सम्बन्ध बिग्रिएको हल्लाकाबिच प्रधानमन्त्री भेट्न मन्त्री पौडेल प्रधानमन्त्री कार्यालय पुगेका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार दुई सचिवले मन्त्रालयको कमाण्ड ठिक ढंगले सम्हाल्न नसक्दा मन्त्रीले नै अपजसको भारी बोक्नु परेको छ । मन्त्रालय स्रोतले सिंहदरबारसँग भन्यो, “अर्थमन्त्री ज्यूले छानेका दुबै सचिव कार्य सम्पादनमा निकै कमजोर देखिएपछि दुबै सचिवलाई लिएर प्रधानममन्त्री भेट्न मन्त्री पौडेल जानु भएको हो, प्रधानमन्त्रीलाई भेटेर दुबै सचिवलाई सरुवा गर्न अर्थमन्त्री पौडेलले नै संकेत गर्नु भएको छ ।”
स्रोतले थप्यो, “दुबै सचिव जागिरे मानसिकताका मात्रै भए, दुबै सचिवलाई कर्मचारी कसैले टेर्दैनन्, मन्त्रालयका कोर टिम भनिएका सहसचिवहरु धनिराम शर्मा र श्रीकृष्ण नेपाल छुट्टै समानान्तर सचिवको अभ्यास गरिरहेका छन्, दुई सचिवको कारण आन्तरिक राजस्व विभागका महानिर्देशक र भन्सार विभागका महानिर्देशकले समेत मन्त्रीलाई टेर्न छाडिसकेका छन् ।”
दुबै सचिवको कार्य क्षमताको आधारमा असफल देखिसकेको विषयमा मन्त्री पौडेलका टिम समेत सहमत भैसकेका छन् । बैंकहरुले अहिले ठूलो तरलता लिएर बसिरहेका छन्, घट्दो ब्याजदरमा समेत कर्जा प्रवाह नभएपछि बैंकरहरुले मोनिटरी पोलिसी भन्दा बजेट नीतिमा कमजोरी भएको बताउन थालेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालयको कर्मचारी तन्त्रले ठोस काम गर्न नसकेको बताइसकेका छन् । उनले तत्काल इकनोमी बुष्ट गर्नका लागि ‘लो कष्ट हाउजिङ’को अवधारणमा समेत ल्याइसकेका छन् । उनले सार्वजनिक रुपमा नै अर्थ मन्त्रालयलाई ‘लो कष्ट हाउजिङ’को उपाय अघि बढाउन सुझाव दिइसकेका छन् ।
तर अर्थ मन्त्रालयले भने गर्भनरको सुझावलाई सिरियस रुपमा लिएको छैन । अर्थतन्त्र चलायमान बनाउन नसकेको, देशको ढुकुटीको आकार बढाउने र ठिक ढंगले खर्च गर्ने जिम्मेवारी पाएका अर्थ सचिव र राजश्व सचिवको भूमिकामाथि गम्भिर प्रश्न उठेको छ ।
कर्मचारीलाई तलब खुवाउनै ऋण लिनुपर्ने अवस्था, कमजोर राजश्व संकलन र खर्चको पारदर्शितामा पनि प्रश्न उठेपछि अर्थ सचिव राम प्रसाद घिमिरे र राजश्व सचिव दिनेश कुमार घिमिरेको कार्यक्षमता माथि गम्भिर प्रश्न उठेको हो ।
अर्थ सचिव डा. राम प्रसाद घिमिरे भने डा. प्रकाश शरण महतका पालादेखि नै अर्थ मन्त्रालयमा छन् । यसअघि उनी वर्षमान पुनसँग पनि काम गरिसकेका छन् । अर्थमन्त्री विष्णु पौडेलले उनलाई राजश्व सचिवबाट अर्थ सचिव बनाएका थिए । दिनेश घिमिरेलाई पनि पौडेलले नै राजश्व सचिव बनाएका हुन् । सचिव घिमिरेद्धयको भूमिकाबाट अर्थमन्त्री मात्रै नभएर स्वयं प्रधानमन्त्री केपी ओली समेत असन्तुष्ट रहेको स्रोत बताउँछ ।
‘सचिवज्यूहरुको केहि बिजनेस घराना र त्यसका हर्ताकर्ताहरुसँग अलि बढि नै हिमचिम तथा भेटघाट भैरहेको सूचना पनि अर्थमन्त्री र प्रधानमन्त्रीसम्म पुगेको छ । काम गरेर सरकारलाई सफल बनाउन सघाउनुपर्ने सचिवज्यूहरुले बाह्य भेटघाट बढाउन थालेपछि समस्या आउनु स्वभाविक नै भयो ।’, अर्थ स्रोतले सिंहदरबारसँग भन्यो ।
राजस्व सचिव दिनेश कुमार घिमिरेले रामप्रसाद घिमिरेलाई अर्थ सचिवबाट हटाएर आफूलाई अर्थसचिवमा बढुवा गर्न एक व्यापारिक घरानासँग प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयका एक कर्मचारीले सिंहदरबारसँग थपे,“मेरो अनुभवमा नेता र कर्मचारी घटनाका पात्र मात्रै हुन्, निर्देशक अर्कै हुन्छ, निर्देशकले जे रोल दिन्छ सोहि अनुसार नै एक्ट (अभिनय) गर्ने हो ।”
प्रतिक्रिया दिनुहोस्