काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष सुनिल केसीले ४ दशकको यात्रामा बैंकिङ क्षेत्र सबैभन्दा कठिन अवस्थामा रहेको बताएका छन् । बुधबार नेपाल बैंकर्स संघको ३८ औं वार्षिक साधारणसभामा बोल्दै केसीले बाह्य क्षेत्रको रिजर्भ र रेटिङ राम्रो आए पनि ४ दशकको यात्रामा बैंकिङ क्षेत्र कठिन मोडमा आइपुगेको बताएका हुन् ।
‘ऋण गइरहेको छैन । लिक्विडिटीमा समस्या आइरहेको छ। कहिले धेरै हुने, कहिले कम हुने भैरहेको छ ।’ केसीले भने ‘हामीले दक्षिण एशियाकै राम्रो बैंकिङ अभ्यास गरिरहेका छौं । ४० अर्बभन्दा कर तिरेका छौं । तर पछिल्लो समय राजनीतिक अस्थिरताका कारण बैंकिङ सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ ।’
बैंकको खराब कर्जा बढ्दो क्रममा भएको बताउँदै केसीले फिस्कल इन्ब्यालेन्सले पनि असर पारिरहेको उल्लेख गरे । ‘बैंकिङ क्षेत्रको जनशक्ति समेत बाहिरी रहेको छ’ उनले भने ‘सरकारबाट हुने धरपकडले पनि यसमा असर पारिरहेको छ । बैकिंग क्षेत्रको कन्फिडेन्स पनि कम भैरहेको छ ।’
उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा कर्मचारी विदेश पलायन हुने प्रवृत्तिले बैंक झनै समस्या परेको उल्लेख गरे । केसीले बैंकर संघका नवनियुक्त अध्यक्ष सन्तोष कोईरालासहित सम्पूर्ण नयाँ कार्यसमितिलाई समेत बधाई दिए ।
प्रतिक्रिया दिनुहोस्