काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल ९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांशमा ८.५५ प्रतिशतले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुष २९ गते वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहको सिटी हलमा हुने कम्पनीले जनाएको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुष १७ गत बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्