काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका मौलिक संस्कृति एवं परम्पराले एकापसमा सामाजिक सद्भाव अभिवृद्धि गरी राष्ट्रिय एकतालाई बलियो बनाउने बताएका छन् ।
धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा जारी गरेको शुभकामना सन्देशमा अध्यक्ष नेपालले मौलिक विशेषता भएका फरक सांस्कृतिक पर्वले नेपाली समाजलाई अन्तर्राष्ट्रियजगतमा चिनाउन मद्दत पुग्ने बताए ।
बहुभाषिक एवं बहुसांस्कृतिक हाम्रो मुलुकमा विविध जातजातिका भाषा, साहित्य, कला र रहनसहनले समग्र राष्ट्रलाई सुसंस्कृत बनाउन मद्दत पुग्ने बताउँदै सन्देशमा पूर्वप्रधानमन्त्री नेपालले सम्बन्धित समुदायले पनि आफ्ना मौलिक चाडपर्व र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक एकता, पारस्पारिक सम्मान अभिवृद्धि गरी आर्थिक विकासको मार्गमा अग्रसर हुन चाडपर्व सहयोगी हुने विचार पनि व्यक्त गरे ।
यसैबीच, पूर्वप्रधानमन्त्री झलनाथ खनालले शुभकामना व्यक्त गर्दै मुलुकका मौलिक चाडपर्वले आपसी स्नेह, शान्ति र सद्भाव अभिवृद्धि गर्न प्रेरणा मिल्ने बताए । साथै उनले सन्देशमा धार्मिक विविधतायुक्त नेपाली समाजलाई समतामूलक तुल्याउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्