काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवालाई सुविधाका रुपमा नभइ जिम्मेवारीका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले बुधबारदेखि सुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उनले निजामती सेवा सुविधा नभइ जिम्मेवारी भएको बताएका हुन् । कर्मचारीले इमानदार भएर आफ्नो जिम्मेवारी पूरा गरे सुविधाहरू आफैं प्राप्त हुने उनको भनाइ छ ।
‘निजामती सेवा भनेको जिम्मेवारी हो, सुविधा होइन भन्ने बुझ्नु आवश्यक छ’ मन्त्री गुप्ताले भने ‘तपाइँहरूले पनि जिम्मेवारीलाई प्राथमिकतामा राख्नु होला । पहिला जिम्मेवारी पूरा गरौँ । सुविधा आफैं प्राप्त हुन्छ ।’ कर्मचारीहरूले गर्ने कामसँग देशको गरिमा जोडिएको बताउँदै उनले राम्रो काम गरेमा सबैले सम्मान प्राप्त गर्ने बताए ।
कर्मचारी प्रशासनको क्षेत्रमा अनेक समस्या रहेको र ती समस्या समाधान गर्न देशले इमान्दार र लगनशील कर्मचारी खोजिरहेको चर्चा गर्दै मन्त्री गुप्ताले सामुहिक प्रयासबाट मात्रै ती समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । त्यसका लागि नवनियुक्त शाखा अधिकृतहरूमा टिकाउ अठोट र दृढ आत्मविश्वास विकास हुनुपर्नेमा जोड दिए ।
‘हामीले नागरिकमा सरकार र सार्वजनिक सेवाप्रति भरोसा बढाउनु छ । त्यसका लागि हामीले हाम्रो व्यवहार सुधार गर्नुपर्छ । नागरिकलाई सम्मान गर्नुपर्छ’ उनले भने । मन्त्री गुप्ताले लोकसेवाको परीक्षा पास गरे पनि कर्मचारीहरूले वास्तविक परीक्षा कार्यस्थलबाट दिनुपर्ने स्मरण गराए ।
‘तपाइँहरूले कापीमा लेख्ने परीक्षा पास गर्नु भएको छ । त्यो वास्तविक परीक्षा होइन । वास्तविक परीक्षा अब सुरू भयो । यो परीक्षामा दैनिक पास हुनुपर्छ । त्यसको जाँच नागरिकले लिन्छन् । म आशा गर्छु तपाइँहरू सफल हुनुहोस् । शुभकामाना पनि छ’ उनले भने । कर्मचारीहरूको क्षमता विकास गर्न, आत्मवविश्वास बलियो बनाउन र सबैलाई निजामती सेवाप्रति प्रतिवद्ध बनाउन ‘आधारभूत प्रशासन प्रशिक्षण’ अत्यन्तै महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
मन्त्रालयले यो तालिमलाई सफल बनाउन पूर्ण सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरे । साथै, आगामी दिनमा यो तालिमलाई अझै उच्चस्तरीय बनाउन प्रतिष्ठानसँग निरन्तर छलफल गरिरहेको जानकारी दिदैँ उनले क्रमिक रूपमा सुधार गर्दै लैजाने बताए ।
‘तालिम अवधिभरि यहाँका नियमहरू पालना गर्नु होला । तालिममा पूर्ण ध्यान दिनु होला र सकेसम्म धेरै सिक्ने प्रयास गर्नु होला । प्रतिष्ठानले पनि तालिमलाई राम्रो बनाउन ध्यान दिनुहोला’ मन्त्री गुप्ताले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्