Shikhar Insurance
National Life

प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो होइन: सभापति खतिवडा

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो नभएको बताएका छन् । भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले मुख्य सचिवले कर्मचारीहरुलाई निर्देशन दिँदा निर्देशन पालना नहुने गरेको बताउँदै सरकार र मुख्य सचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हावी भएको उल्लेख गरे । उनले अख्तियारसँग डण्डा,कानून र हत्कडी लगाउने क्षमता भएपनि सही रुपमा प्रयोग हुनुपर्ने बताउँदै भ्रष्टाचारका विषयमा बेनामी उजुरीहरु दिन पाउने/नपाउने विषयमा राज्य व्यवस्था था सुशासन समितिमा छलफल भइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले समितिले बेनामीमा भ्रष्टचारको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था राख्ने गरी कानून बनाउन लागेको बताउँदै बजेट छुट्याउँदैमा मानिसहरु जेल जानुपरे विकास निर्माणका कामहरु अगाडी बढ्न नसक्ने बताए ।

खतिवडाले अदालतमा मुद्दा दर्ता हुने बित्तिकै निलम्वन हुने पद्धतिले भविष्यमा राम्रो नगर्ने बताए । उनले पछिल्लो समय नीतिगत भ्रष्टाचारका विषयहरु उठेको भन्दै सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको बताए ।खतिवडाले समितिलाई नीतिगत व्यवस्था कस्तो बनाउने भन्ने दायित्व रहेको भन्दै समितिले सो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने उल्लेख गरे ।

उनले भने, ‘अख्तियारमा प्रधानमन्त्रीले भनेको कुरा नहुने तर अख्तियारले भनेको मात्रै काम हुने पद्धतिको विकास भयो भने सरकार कहाँ जान्छ त्यो विषयमा कर्मचारीहरुले ध्यान दिनु । मुख्य सचिवले कर्मचारीहरुलाई एउटा निर्देशन दिँदा निर्देशन पालना गर्न अन्कनाउनु हुन्छ । अख्तियारले भन्यो भने १० मिनेटमा काम सक्नुहुन्छ । किनभने अख्तियारमा डण्डा, कानून र हत्कडी लगाउने क्षमता पनि छ ।’

‘बजेट छुट्याउँदैमा मानिसहरु जेल जानुपर्‍यो भने विकास निर्माणका कामहरु कसरी हुन्छ । अदालतमा मुद्दा जाने बित्तिकै निलम्वन हुने विकास हुँदै जाने हो भने भविष्यमा के होला । नीतिगत भ्रष्टाचारका विषयहरु आएका छन् । सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको छ । नीतिगत व्यवस्था के बनाउने दायित्व समितिलाई आएको छ । समितिले त्यो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने छौं’ उनले बताए ।

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेले राम्रो काम गर्ने भनेर नाम चलेको व्यक्ति टाउकोमा हाल्ने प्रवृत्ति राम्रो नभए बताउँदै जबसम्म त्यो खालको प्रवृत्ति रहेसम्म बेरुजु आउने प्रक्रियाको अन्त्य नहुने उल्लेख गरे ।

उनले जसले चेक काट्यो उसैमाथि बेरुजु हुनुपर्नेमा समिति स्पष्ट रहेको बताउँदै भने, ‘काम गरिसकेर तिमीले राम्रो काम गरिस् भनेर धन्यवाद पनि दिएर पठाउने तर महालेखाको प्रतिवेदनले बेरुजु देखाएको जसलाई धन्यवाद दिएर पठाएको व्यक्तिको टाउकोमा हाल्ने चलन जबसम्म रहन्छ । बेरुजु आउने प्रक्रियाको अन्त्य कहिल्यै पनि हुँदैन । जवाफदेहिता र सुशासन कहाँ हुन्छ । मैले देखेको छैन । जबसम्म जवाफदेहिता यसबाट खोज्न सकिँदैन । यस्तो विषय उल्टाउने विषयमा लैजानुपर्छ । जसले चेक काट्यो उसैमाथि बेरुजु हुनुपर्छ ।’

मुख्य सचिव एकनारायण अर्यालले शासनमा सहकार्य गर्ने सबै पात्रहरु नैतिकता,सदाचार्यता र इमान्दारीता मूल्य विकास गरी नैतिक रुपमा उन्नत र समुन्नत नेपाल निर्माण गर्न आवश्यक रहेको बताए । उनले आफूलाई नैतिकवान ठानिरहँदा अरुलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको बताए ।

उनले नैतिकता हराइरहेको समाजमा नैतिकवान समाज निर्माण गर्नुपर्ने उल्लेख गर्दै भने, ‘शासनमा सहकार्य गर्ने सबै पात्रहरु नैतिकता,सदाचार्यता र इमान्दारीता मूल्य विकास गरी नैतिक रुपमा उन्नत र समउन्नत नेपाल निर्माण गर्न हाम्रो भगिरथ प्रयास आवश्यक छ । आफूलाई नैतिकवान ठानिरहँदा अरुलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको छ । नैतिकता हराइरहेको समाजमा नैतिकवान समाज निर्माण गर्नुपर्ने छ । बहुआयामीक रुपमा रहेको भ्रष्टाचारलाई सार्वननिक,सरकारी,निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य र सहयोग निर्वाह गर्ने कार्यमा सरकारको सहयोग रहनेछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्