काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । उनले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने बताए ।
उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताए ।
अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताउँदै भने, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान अभियान र कर्म पनि हो ।’
अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्