काठमाडौं । जलवायु परिवर्तनको असरका विषयमा गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले विगतको तुलनामा ४० प्रतिशत कृषि उत्पादन कमी आएको देखाएको छ । पाँच विश्वविद्यालय मिलेर दक्षिण एशिया क्षेत्रमा जलवायु परिवर्तनले कृषिमा पारेको असरका विषयमा गरिएको अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभाग,चीनका दुई विश्वविद्यालय, भारतको दिल्ली इकोनोमी अफ भुगोल विभाग र बंलादेशका अध्ययन केन्द्रहरु रहेका थिए । उक्त अनुसन्धान गण्डकी जलाधार क्षेत्रमा पर्ने वागमती, गण्डकी प्रदेशका पाँचवटा जिल्ला रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्कीमा गरिएको थियो ।
गण्डकी जलाधार क्षेत्रमा गरिएको अनुसन्धानले जलवायु परिवर्तनले तापक्रममा परिवर्तन,वर्षाको ढाँचा,खडेरी बाढी तथा पहिरो आउने जस्ता असरले कृषि उत्पादकत्वमा असर गरेको देखाएको छ । अनुसन्धानले वर्षामा निर्भर खेती भएकाले कृषि क्षेत्रमा खडेरीबाट अत्याधिक प्रभावित बनाएको देखाएको छ ।
जलवायु परिवर्तनको कारण गण्डकी जलाधार क्षेत्रमा समेत वर्षा समेत कम भएको अध्ययनले देखाएको त्रिभूवन विश्वविद्यालय भुगोल केन्द्रिय विभागका प्राध्यापक डाक्टर प्रेमसागर चापागाईंले बताए । उनले वर्षातको समयमा समेत पानी पर्ने समय परिवर्तन हुने,समयमा पानी नपर्ने बढी वा घटी पर्ने जस्ता समस्या समेत देखापरेकाले नेपालको कृषि उत्पादमान ठूलो असर बनाएको अध्ययनले देखाएको बताए ।
उनले अध्ययनको निष्कर्षअनुसार नेपाल,भारत,चीन र बंलादेश सबैतिर कृषि उत्पादनमा कमी देखिए पनि नेपालमा सबैभन्दा धेरै देखिएको बताउँदै गतको तुलनामा नेपालको हिमाली क्षेत्रमा ४० प्रतिशतसम्म कृषि उत्पादकत्वमा कमी आएको अध्ययनमा देखिएको उल्लेख गरे ।
उनले समयमा पानी नपर्दा किसानको लागत वृद्धि समेत भएको बताए । उनले जलवायु परिवर्तनको कारण पानी नपर्दा खडेरीको कारण कृषिबालीहरु सुक्ने समस्याले बाँझो जमिन छोड्ने प्रवृत्ति बढेको उल्लेख गरे । उनले विश्वविद्यालयको अध्ययनले जलवायु परिवर्तनको कारण कृषि क्षेत्रमा परेको असरले धेरै मानिसहरु बसाईसराई तथा वैदेशिक रोजगारीमा जाने क्रम बढेको जानकारी दिए ।
उनले नेपालको जलवायु सम्बन्धी नीतिहरु राष्ट्रियस्तरको रहेको तर भौगोलिक अवस्था फरक रहेको भन्दै जलवायु परिवर्तन सम्बन्धी नीतिहरु भौगोकि बनावटअनुसार बनाउनुपर्ने बताए । उनले हिमाल,पहाड र तराई क्षेत्रको बनावटअनुसार स्थानीय स्तरसम्मका लागि नीतिहरु बनाउनुपर्ने अवस्था देखिएको बताए ।
अनुसन्धानले नेपालमा जलवायु परिवर्तनको प्रभावका कारण किसानहरु कृषि कर्म छोड्दै वैदेशिक रोजगारीमा गइरहेको देखाएको छ । जलवायु परिवर्तनको कृषि उत्पादन घट्ने,लागत मूल्य बढ्ने,बालीनालीमा रोग तथा किराहरुको संक्रमण बढ्ने,बेमौसमी अधिक वर्षा,हावाहुरी र असिनाले बालीनालीमा ठूलो क्षति पुर्याउँदा किसानहरु जलवायु परिवर्तनको मारमा परेका छन् ।
अध्ययनले जलवायु परिवर्तनको असर सकारात्मक रहेको पनि देखिएको छ । नेपालका हिमाली र पहाडी क्षेत्रका उच्च भू–भागमा स्याउ र अन्न उत्पादनमा वृद्धि भएको छ । अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम,कृषि सम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको छ । तराईमा ३४ प्रतिशत,पहाडमा २२ प्रतिशत र हिमालमा ८।५ प्रतिशत घरपरिवारले मात्रै मौसम सम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्