काठमाडौं । कृषि तथा पशपन्छी विकासमन्त्री रामनाथ अधिकारीले विश्व प्रविधिको युगमा प्रवेश गरेसँगै बीउबिजनको क्षेत्रलाई पनि प्रविधिमा आधारित बनाउँदै लैजानुपर्नेमा जोड दिएका छन् । बीउसम्बन्धी निर्माण गरिएको सफ्टवयेर देसिस–२ को आज यहाँ शुभारम्भ गर्दै मन्त्री अधिकारीले कृषिलाई सूचना प्रविधिसँग जोड्न जरुरी रहेको बताएका हुन् ।
यसो भयो भने मात्र कृषि क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हुने उनले बताए । बीउबिजनको वितरणलाई डिजिटलाइजेसन प्रणालीमा लैजाने कार्यले समग्र कृषि क्षेत्रमा सुधार देखिने उनको भनाइ थियो । ‘सरकारले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरिरहँदा यसको तुलनात्मक लाभ कृषि क्षेत्रले समेत लिनुपर्छ’, मन्त्री अधिकारीले भने । कृषि, पर्यटन, ऊर्जा र बृहत्तर पूर्वाधार निर्माण नेपालको विकासका लागि अपरिहार्य रहेको उल्लेख गर्दै उनले कृषिलाई प्रविधिमा आधारित बनाइरहँदा डिजिटल साक्षरता पनि आवश्यक रहेको बताए ।
मन्त्री अधिकारीले सफ्टवेयरमार्फत गुणस्तरीय बीउबिजनमा किसानको सहज पहुँच हुने विश्वास व्यक्त गरे । विभिन्न दातृसंस्थाको सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रमार्फत यो सफ्टवयेर निर्माण गरिएको हो । यसमार्फत तीनै तहका सरकारबीच बीउबिजन वितरणलाई डिजिटलाइजेसन गरी गुणस्तरीय बीउमा किसानको पहुँच कायम हुने केन्द्रका प्रमूख बेनुप्रसाद प्रसाईंले बताए ।
प्रतिक्रिया दिनुहोस्