Shikhar Insurance
National Life

३ कठ्ठा जग्गामा काँक्राखेती गरेर तीन महिनामै डेढ लाख बढी कमाउँछन् चौधरी

सिंहदरबार संवाददाता
२०८१ मंसिर १६, आईतवार १३:०६
Hyundai
NCELL
NIMB

कञ्चनपुर । बेमौसमी काँक्राखेती गरेर शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले तीन महिनामै डेढ लाख बढी आम्दानी गरेका छन् । ३ कठ्ठा जग्गामा चौधरीले काँक्राखेती गरेका छन् ।

हालसम्म २१ क्विन्टल काँक्रा बिक्री गरेको चौधरीले बताए । काँक्रा प्रतिकिलो ७० देखि ८० मा बिक्री हुँदै आएको छ । काँक्रा रोप्नेदेखि टिपेर बजारसम्म लैजाने कार्यमा चौधरी खटिँदै आएका छन् । बारीमा उत्पादित काँक्रा स्थानीय झलारी, कलुवापुर र अत्तरियालगायत बजारमा बिक्री हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘स्थानीय व्यापारीले काँक्रा बारीबाटै खरिद गरेर लैजाने गरेका छन्’ चौधरीले भने ‘व्यापारी नआएको दिन आफैँ साइकलमा राखेर काँक्रा बजारमा पुर्‍याएर बिक्री गरिँदै आएको छ ।’ अझै बारीमा १ लाख मूल्य बढीका काँक्रा बिक्री गर्न बाँकी रहेको उनले बताए । गत वर्ष उनले २ लाख मूल्यका बेमौसमी काँक्रा बिक्री गरेका थिए । पिपलाडी गाउँमा व्यावसायिक तरकारीखेतीमा धेरै किसान भए पनि बेमौसमी काँक्रा उत्पादन गर्नेमा चौधरी एक्ला किसानका रुपमा रहेका छन् ।

बेमौसमी काँक्राखेती गरेर बजार मूल्य पनि बढी पाइने र बजारमा सहजै बिक्री गर्न सकिने भएकाले यस खेतीलाई दुई वर्षदेखि निरन्तर रुपमा गर्दै आएको चौधरी बताउँछन् । भारतीय तरकारीखेती गर्ने व्यक्तिहरुबाट चौधरीले बेमौसमी तरकारीखेती गर्ने तौरतरिका सिकेको बताए । काँक्रासँगै चौधरीले लौका, भन्टा, खुर्सानी, तितेकरेला, चिचिण्डा, धनियाँ, आलु, लसुन, काउली, बोडीलगायतको खेती गर्छन् ।

काँक्राखेतीबाट ३ लाख र अन्य तरकारीखेती गरी वर्षमा उनले ७ लाखदेखि १० लाखसम्मको आम्दानी गर्दै आएका छन् । तरकारीखेती गरी आएको आम्दानीबाट चौधरीले छोरालाई काठमाडौंमा डेरामा राखेर मेकानिकल इञ्जिनियर पढाउँदै आएका छन् । उनले छोरीलाई महेन्द्रनगरमा कम्प्युटर विज्ञानको पढाइ गराउँदै आएका छन् ।

‘तरकारीखेतीबाट आएको आम्दानीमध्ये केही छोराछोरीका लागि खर्च हुन्छ’ चौधरीले भने ‘बाँकी रहेको रकम घरखर्चमा सकिन्छ ।’ पिपलाडी गाउँमा तरकारीखेतीमा ५० बढी परिवार संलग्न रहेका छन् । त्यसमध्ये चौधरीलाई अधिक आम्दानी गर्ने किसानमा गणना गरिन्छ । चौधरीले एक दशकअघिदेखि तरकारीखेतीमा संलग्न रहँदै आएका छन् ।

व्यावसायिक खेतीमा संलग्न रहँदै आएका चौधरीले भने अहिलेसम्म अनुदानका कुनै पनि कार्यक्रममा समावेश हुन नपाएको गुनासो गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्