काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ । सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जङ्ग थापाले हस्ताक्षर गरेका थिए ।
‘यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्दछ’ रिलायन्स फाइनान्सका सीईओ समाज प्रकाश श्रेष्ठले भने । लुम्बिनी लायन्स फ्रेन्चाइज, जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन् ।
फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहलीको आरसीबीलाई पराजित गरेका थिए । यसका साथै भारतका यू-१९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द, इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस, क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरू हुन् ।
फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन् । नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन्, र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किङ्ससँग आफ्नो पहिलो खेल खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्