काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मौद्रिक नीतिको प्रथम समीक्षा मौन, आगामी निर्देशन र समीक्षाबाट वस्तुपरक नीति र उपायहरु अवलम्बन हुने अपेक्षा गरेको छ । नेपाल राष्ट्र बैंकको विशेष पहलका कारण अर्थतन्त्रका बाह्य सूचकहरुमा निरन्तर सकारात्मक सुधार आउँदै गरेको परिप्रेक्ष्यमा अर्थतन्त्रका आन्तरिक सूचकहरु भने झन शिथिल हुँदै गएको परिसंघले जनाएको छ ।
परिसंघले तत्कालिन परिस्थिति र आम अपेक्षाहरुलाई सुक्ष्मरुपमा अध्ययन तथा विश्लेषणसहित समग्र आर्थिक, व्यवसायीक एवं बैंकिङ गतिविधिहरुलाई जीवन्त बनाउनका लागि धेरै हदसम्म लचकता अपनाउँदै गत साउनमा आएको २०८१/८२ को मौद्रिक नीतिले आमरुपमा आशा र उत्साह जगाएको उल्लेख गरेको छ ।
परिसंघले भन्यो, ‘मौद्रिक नीतिले अपनाएका नीतिगत व्यवस्थाहरु कार्यान्वयनबाट मूल्य स्थिरता र बाह्य क्षेत्रको स्थायित्व कायम हुँदै गएको भएपनि बैंक तथा वित्तीय संस्थाहरुको खराव/निष्क्रिय कर्जा एवं गैर बैंकिङ सम्पत्तिमा निरन्तररुपमा बृद्धि भइरहेको छ । अपेक्षाकृत रुपमा कर्जा लगानी हुन नसकेको, आर्थिक एवं बैंकिङ गतिविधिहरुले समेत गति लिन नसकिरहेको, आन्तरिक मागमा कमी आइरहेको र सरकारले पूँजीगत खर्च गर्न सकिरहेको छैन । निजी क्षेत्रको मनोबल समेत खस्किरहेको वर्तमान परिस्थितिकावीच जारी भएको समीक्षाले पछिल्लो समयमा विकसित विविध घटनाक्रमहरुलाई नीतिगत सम्बोधन गर्नुपर्ने अवस्थामा विगत कै कार्यदिशालाई मात्र निरन्तरता दिइनुले मौद्रिक नीतिले लिएका लक्ष्यहरुको प्राप्ति र आर्थिक क्रियाकलापहरुले आशातित रुपमा गति नलिने हो कि भन्ने चासो बढाएको छ ।’
बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रही न्यून ब्याजदर कायम भएको र सार्वभौम साख मूल्याङ्कनमा नेपालले हालैमात्र प्राप्त गरेको सन्तोषजक नतिजाले लगानी विस्तार, कर्जा प्रवाह तथा पृँजी परिचालनको लागि ठूलो अवसर सृजना भएको अनुकुल अवस्थालाई नेपाल राष्ट्र बैंकबाट आगामी त्रैमासिक समीक्षा मार्फत थप सहज नीति र उपायहरु अवलम्बन गरिने परिसंर्घ विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्