काठमाडौं । हिजाे मात्रै नेपाल राष्ट्र बैंकले कारवाही गरेकाे कर्णाली डेभलपमेन्ट बैंककाे सेयरमा आज उछाल मात्रै हैन सकारात्मक सर्किट नै लागेको छ । बैंककाे खराब कर्जा करिब ४१ प्रतिशत पुगेकाे भन्दै नेपाल राष्ट्र बैंकले हिजो अर्थात मंसिर ११ गते एक सूचना प्रकाशन गर्दै बैंकलाई थप निक्षेप संकलन र कर्जा प्रवाहमा रोक लगायतको कारवाही गरेको थियो ।
कारवाहीमा परेकाे भाेलिपल्टै बैंकको सेयरले भने सकारात्मक सर्किट लागेकाे छ । कम्पनीलाई नियामकीय निकायले संकटाेन्मुख भनेर कारवाहीको दायरामा ल्याएकाे भाेलिपल्टै सेयरमा भने कसरी सकारात्मक सर्किट लग्याे ? याे कतै ट्रेडरकाे चलखेल त हैन ?
कम्पनी नियामकीय कारवाहीमा परेकै भाेलिपल्टै सेयर मूल्य १० प्रतिशतले बढेर २० कराेड १३ लाख ३८ हजार ३ सय ३० रुपैयाँमा २ लाख ९५ हजार ४ सय ३१ कित्ता सेयर किनबेच भएको छ ।
राष्ट्र बैंकले मंगलबार एक सूचना प्रकाशन गर्दै बाँके, नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई थप निक्षेप लिन र कर्जा प्रवाहमा रोक लगाएको थियो । कम्पनीको खराब कर्जा करिब ४१ प्रतिशत पुग्दा पनि किन सेयर मूल्य भने बढीरहेको छ । कम्पनीको पहिलो त्रैमासिक वित्तीय समस्याउन्मुख देखिएको छ । खुद नाफा घटेको र खराव कर्जा बढेको देखिन्छ ।
गत साउन ६ गतेदेखि ११ गतेसम्म राष्ट्र बैंकबाट सम्पन्न लक्षित निरीक्षणको प्रतिवेदअनुसार उक्त बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन गर्दा नियामकीय प्रावधानबमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम नहुने, निष्क्रिय कर्जा ४०.८५ प्रतिशत कायम हुने लगायतका कारणले थप निक्षेप लिन र कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकले जनाएको छ।
बैंकको वित्तीय अवस्था समस्याउन्मुख देखिएको हुँदा निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने अभिप्रायले यो कदम चालेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम ६ महिनाभित्र उक्त बैंकको नयाँ व्यवस्थापनले बैंकको वित्तीय परिसूचकहरुमा सुधार गर्ने सर्तमा आजैको मितिदेखि लागू हुने गरी थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्