जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा सञ्चालित एकदिने नि:शुल्क स्वास्थ्य शिविरबाट तीन सय १० जना लाभान्वित भएका छन् ।
गाउँपालिकाको सहकार्य र आइएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा सोमबार सञ्चालन भएको नि:शुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, आँखा, नाक, घाँटी र हाडजोर्नीसम्बन्धी बिरामीले सेवा लिएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए । उनका अनुसार एक सय ३२ पुरुष र एक सय ७८ महिलाले सेवा लिएका छन् ।
नाक, कान, घाँटीसम्बन्धी बिरामी ४६, आँखासम्बन्धी एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले शिविरबाट सेवा लिएका जनस्वास्थ्य निरीक्षक रावतले उल्लेख गरे । गाउँमा विशेषज्ञ चिकित्सकबाट उपचार पाउँदा यहाँका स्थानीयले राहत महसुस गरेका तिला–१ का स्थानीय काली रावतले बताए ।
कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तुफानसिंह कठायतको टिमले स्वास्थ शिविरमा बिरामीको जाँच गरेको आइएनएफ नेपाल जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए । अपाङ्गता भएका व्यक्तिहरूका लागि नि:शुल्क स्वास्थ्य परामर्श, सेवा प्रदानदेखि अपाङ्गता कार्डका लागि डाक्टरद्वारा सिफारिस समेत दिइएको उनले जानकारी दिए ।
गाउँबस्तीमा पुगेर आइएनएफ नेपालले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयले सकारात्मक प्रतिक्रिया दिँदै आगामी दिनमा यस्ता शिविर निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्