काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल—कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ । सोमबार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन् ।
अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे। अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको भनाइ छ ।
उनले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा शुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले आफू विरामी नभईकन स्वास्थ्यको महत्त्व बुझ्न नसकिने उल्लेख गर्दै विरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भिर हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘भक्तपुरको मध्यपुर नगरपालिकाले दक्षिण कोरियाको सहायतामा चल्दै आएको अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा बिस्तार गर्ने क्रममा नयाँ भवन आज शिलन्यास भएको छ । एउटा सानो क्लिनिकको रुपमा शुरु भएर आज यो एउटा अस्पतालको रुपमा विकास भएको छ । बिरामी हुनुभन्दा अगाडि नै स्वास्थ्य परीक्षण गर्नुपर्दछ । यस अस्पताल भवनको निर्माणपछि प्राणघातक रोगबाट बच्न सक्ने स्थिति रहन्छ । यो अस्पतालले नेपाल र कोरियाबीचको सम्बन्धलाई थप अगाडि बढाउनेछ ।’
अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुगाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्