वीरगञ्ज । नारायणी अस्पताल वीरगञ्जमा स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका अनुसार एक साताभित्र मेमोग्राम उपकरण जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा चुमनलाल दासले एक साताभित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए । ‘स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यकपर्ने मेमोग्राम मेसिन अस्पतालमा आएसँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी गरिरहेका छन् । एक साताभित्र जडान गरिसक्ने लक्ष्य राखेका छौँ’ उनले भने ।
मेसु दासले मेमोग्राम जडान भएसँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए । ‘सेवा सुरु भएपछि स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनेछ’ उनले बताए । सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उक्त उपकरण यहाँ ल्याइएको हो ।
प्रतिक्रिया दिनुहोस्