काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को कात्तिक महिनासम्म ३ हजार ४ सय ८७ वटा वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल भित्रिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार इभी आयात गत आवको सोही अवधिको तुलनामा चालु आवको सोही अवधिमा २५.११ प्रतिशत अर्थात् ७ सय वटाले बढी आयात भएको हो । गत आवको सोही अवधिमा २ हजार ७ सय ८७ प्रतिशत इभी नेपाल भित्रिएको थियो ।
कात्तिक महिनामा ५० किलोवाटका इभी गाडी १ हजार ५० वटा भित्रिएको छ भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका इभी २ हजार ११५ वटा इभी नेपाल आयात भएको छ । त्यसैगरी, भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका इभी ३ सय १६ वटा नेपाल भित्रिएको छ । यस्तै, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका ४ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल भित्रिएको छ ।
यी इभी गाडीहरु खरिद गर्नका लागि नेपाली व्यवसायीहरुले कात्तिक महिनासम्म ८ अर्ब ३७ करोड ९ लाख ५२ हजार रुपैयाँ खर्च गरेका छन् भने नेपाल सरकारले सोमार्फत ५ अर्ब १९ करोड २० लाख ७७ हजार रुपैयाँ राजस्व उठाएको छ ।
कुन देशबाट कति भयो आयात ?
नेपालमा ईभी सवारीको प्रयोग बढ्दै जादाँ आयतमा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल ईभी गाडीको आयात सबैभन्दा बढी चीनबाट भइरहेको छ ।
चालु आवको कात्तिक महिनासम्ममा चिनबाट १०१ किलोवाटदेखि २०० किलोवाट क्षमताका इभी ३१० वटा, ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका १ हजार ६ सय ८३ वटा, ५० किलोवाट क्षमता भएको ५ सय १३ वटा, २०१ किलोवाटदेखि ३०० किलोवाटका २ वटा र ३०० किलोवाट भन्दा माथिका २ वटा इभी नेपाल आयात भएको छ ।
यस्तै, भारतबाट ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका ४ सय ३२ वटा, ५० किलोवाटका ५ सय ३७ वटा नेपाल भित्रिएको तथ्यांकले देखाएको छ । त्यसैगरी, जर्मनीबाट ६ वटा, संयुक्त राज्य अमेरिकाबाट २ वटा इभी नेपाल आयात भएको छ ।
पेट्रोलियम र डिजेल गाडीलाई पछि पार्दै इलेक्ट्रिक गाडी आयात बढेको छ । कम खर्च र सजिलो फाइनान्सिङले विद्युतिय गाडीको प्रयोगमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस्