Skip to content
Shikhar Insurance
National Life

गाउँ फर्केका रोकाको खेतमा माओवादी कार्यकर्ताको श्रमदान

Hyundai
NCELL
NIMB

खोटाङ । सहर छाडेर गाउँ फर्केका अर्थशास्त्री तथा राजनीतिक विश्लेषक हरि रोकाको खेतमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटाङका नेता तथा कार्यकर्ताले श्रमदान गरेका छन् । काठमाडौं छाडेर ४० वर्षपछि विसं २०७९ मा सपरिवार गाउँ फर्किएका रोकाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित खेतमा पुगेर उनीहरुले श्रमदान गरेका हुन् ।

गाउँ छाडेर सहर जानेको सङ्ख्या वृद्धि भइरहेको बेला गाउँ फर्किएर खेती किसानी गरिरहेका रोकाको सम्मानस्वरुप धान काट्न सहयोग गरिएको नेकपा (माओवादी केन्द्र) का प्रदेश समिति सचिवालय सदस्य होमकाजी आचार्यले बताए ।

‘पार्टीले आयोजना गरेको जनश्रमदान अभियान अन्तर्गत हरि रोकाको खेतमा पुगेर श्रमदान गरेका छौँ । पछिल्लो समय गाउँ छाडेर सहर जानेको ताँती लाग्न थालेको छ । यो अवस्थामा सहरबाट गाउँ फर्किनुभइ कृषि पेशामा लाग्नुभएका अर्थशास्त्री एवं राजनीतिक विश्लेषक रोकाको सम्मानका लागि श्रमदान गरिएको हो’ उनले भने ।

संविधानसभा सदस्यसमेत रहेका रोका गाउँ फर्किएर खेती किसानीमा लाग्नुले सकारात्मक प्रेरणा दिएको स्थानीयको भनाइ छ । धान काट्ने श्रमदानमा पार्टीका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, पार्टीका जिल्ला संयोजक दीपक पाण्डे, प्रदेश समिति सचिवालय सदस्य आचार्य, पालिका समिति अध्यक्ष राजेन्द्रकुमार राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव रविन खम्बूलगायत सहभागी थिए ।

सर्वसाधारणको खेतमा श्रमदान गर्ने योजना भए पनि सहरबाट फर्किएर गाउँमै सम्भावना देखाउन सङ्घर्ष गरिरहेका रोकाको हौसलाका लागि श्रमदान गरिएको माओवादी केन्द्रले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा १० हजार १८ दशमलव ०९ हेक्टर क्षेत्रफल खेतमा धान खेती हुँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्