काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्पछि मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा सम्भावित राजमार्ग निर्माण गर्ने आवश्यक रहेको बताएका छन् । बुधबार सिंहदरबार स्थित भौतिक मन्त्रालयमा आयोजना गरिएको पूर्वाधार, जलश्रोत, जलवायु लगायत क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।
उनले मुलुकका मुख्य राजमार्गहरुको विकल्पमा अन्य राजमार्ग बनाउन आवश्यक देखिएकाले सरकारले छलफल अगाडि बढाएको बताउँदै बाढी, पहिरोले निम्तिएको विपद्पछि वैकल्पिक राजमार्ग बनाउन जरुरी देखिएको उल्लेख गरे ।
उनले नागढुङ्गा–मुग्लिङ सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था रहेको जनाए । दाहालले विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक बनाउने विषयमा सरकारले सोचि रहेको बताए । उनले विज्ञहरुले नदी किनारमा सडक बनाउन नहुने सुझाव दिएको भन्दै सो विषयमा सरकार गम्भिर रहेको पनि उल्लेख गरे ।
उनले भने, ‘अहिले भएका राजमार्गहरुको विकल्पमा अन्य सम्भावित राजमार्गहरु निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा सरकारले सोचिरहेको छ । बाढी पहिरोको विपद्पछि सरकारले वैकल्पिक सडक निर्माण गर्ने विषय सोचिरहेका छौं । नागढुङ्गा सडकको विकल्पको रुपमा सोच्नुपर्ने अवस्था छ । विपी राजमार्गको विकल्पको रुपमा अर्को सडक सोच्नुपर्ने भएको छ । ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी छ ।’
उनले असोजमा आएको बाढी पहिरोले क्रसरहरु उद्योगमा ठूलो क्षति भएको भन्दै निर्माण सामाग्रिको अभाव हुनसक्ने सुझाव आएकाले क्रसर ठिक ढङ्गले नियमन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । छलफलका क्रममा विज्ञहरुले जलवायु परिवर्तनको प्रभाव र असरलाई मध्यनजर गरी पूर्वाधार निर्माणका योजनाहरु बनाउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्