काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रबन्ध गर्न लागिएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
उनकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताउँदै ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रवन्ध गर्न लागेको बताए ।
उनले छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरुलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने जनाए । उनले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गरे ।
उनले भने, ‘बाटोको क्षमताअनुसार हाम्रो देशमा र संसारमै पनि कुरा के हो भने कति चक्के गाडी हो । थोरै चक्के गाडी छ भने त्यसको भारवहन क्षमता कम हुन्छ । विदेशबाट आएका सामानहरु छन् भने, छिमेकी मुलुकहरुको बाटोबाट आएका सामानहरु छन् भने त्यो चेक प्वाइन्टमा नै निर्धारण गरिनुपर्छ । हाम्रो बाटोमा कति क्षमता भार बोकेका चारचक्के, १० चक्के वा २८ चक्के गाडीहरु पनि छन् । ति गाडीहरुले कति क्षमतासम्मको भार बोकेर हिँड्न पाउँछन् भन्नेकुराको निर्धारण चेक प्वाइन्टमै निगरानी गर्नुपर्छ । यस कुरामा नेपाल सरकारले अब कडाईका साथ नियमावलीलाई कार्यविधिलाई आवश्यक पर्छ भने कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच राखेका छौँ ।’
मन्त्री दाहालले सरकारले विकासका कामहरु अघि बढाउने हुटहुटी रहेको बताउँदै सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्