काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय बनाउन पहल अघि बढाएको बताएका छन् । मंगलबार काठमाडौंमा खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले मन्त्रालयका सचिवलाई खानेपानी मन्त्रालयबाट छिनिएको सरसफाईको अधिकार फिर्ता गर्नेगरी सो प्रश्ताव अघि बढाउन निर्देशन दिएको पनि बताए । उनले आफ्नो पहिलो जिम्मेवारी मन्त्रालयलाई मजबुत बनाउनु रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।
उनले खानेपानी तथा सरसफाई मन्त्रालय बनेपछि धेरै अधिकारहरु मन्त्रालयमा जोडिजे उल्लेख गर्दै खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालय नबनाएसम्म आफूले चाहेअनुसार गतिमा काम गर्न नसकिने पनि स्पष्ट पारे ।
उनले भने, ‘सबैभन्दा पहिला मेरो दायित्व, मेरो फर्ज, मेरो धर्म, मन्त्रीको जिम्मेवारी पाएको हुनाले यो मन्त्रालयलाई मजबुत गराउनु नै हो । मेरो अबको कदम तथा सरसफाईलाई कसरी ल्याउने ? यानकी खानेपानी मन्त्रालयलाई खानेपानी तथा सरसफाई मन्त्रालयलाई कसरी बनाउने ? त्यसमा म लागिपरेको छु । जुन शक्ति बाहिर गएको छ, त्यो शक्तिलाई कसरी फर्काउने भन्नेमा म लागिरहेको छु । मन्त्रालयमा मन्त्रीहरु आउनै मान्दैनन् । खानपानी मन्त्रालयको जिम्मेवारी पाएपछि पहिल्यै नाक खुम्च्याउँछन् ।’
मन्त्री यादवले राम्रो गर्नसक्नेको मात्रै नाम हुने भन्दै सबै मिलेर मन्त्रालयलाई मजबुत बनाउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्