काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा यस्तो देखिएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई ४ खर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुन: श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमश: १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्