काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताएका छन् । सोमबार काठमाडौंका नयाँ गौचरनमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गरे । जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको जानकारी दिए । उनले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गरे ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उहाँले पुर्याएको योगदानको उच्च सम्मान गर्दै सरकारले उनलाई रजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्