काठमाडौं । कर प्रणालीको सार, लगानीको आधार” मुल नारा सहित मनाउन लागिएको यस पटकको कर दिवसको नाराले नै मुलुकको आवस्यक्ता, प्राथमिकता र हामीले आगामी दिनमा तय गर्नु पर्ने नीतिहरु र सो को कार्यान्वयन मार्गचित्र समेत स्पष्ट गरेको छ ।
मुलुक सञ्चालन विकासको मेरुदण्डनै त्यो देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थ व्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको हुन्छ ।राजस्व संकलनको मूख्य आधारनै उद्योग व्यवशाय भएको हुनाले उद्योग व्यवशायमैत्री अनुकुलन (Ecosystem) तयार हुनु पुर्वसर्तको रुपमा रहेको हुन्छ ।
सुदृढ अर्थव्यवस्था निर्माणको लागि पर्याप्त पूजिँको आवस्यक पर्ने भएकोले यसको लागि स्वदेशी तथा विदेशी लगानी अपरिहार्य रहेको कुरालाई विर्सनु हुन्न यही यथार्थतालाई आत्मसात गर्दै नेपाल उद्योग वाणिज्य महासंघको समेत सहकार्यमा गत चैत्रमा लगानी सम्मेलन आयोजना भएको तथ्यलाई म यहाँ स्मरण गराउनु चाहन्छु ।
पछिल्ला वर्षहरुमा विदेशी लगानी भित्रने त्रममा गिरावाट भई बार्षिक दश अर्ब समेत पुग्न नसकेको विद्यमान तितो यथार्थतालाई आत्मसात गर्दै आगामी दिनमा लगानी प्रवर्धनलाई केन्द्रविन्दुमा राखी काम गर्नु पर्ने विषय आजको प्रमुख प्राथमिकता हुनुपर्दछ ।
आजको दिनमा हेर्ने हो भने पनि सरकारको ढुकुटी झण्डै १ खर्ब रुपैंयाले ऋणात्मक रहेको अवस्था छ । राजस्वको अलावा अन्य प्राप्ति समेतलाई जोड्दा समेत ट्रेजरी ८५ अर्ब भन्दा बढीको मभाष्अष्भत मा छ ।
यो असन्तुलित वित्तिय अवस्थालाई चिरेर अगाडी बढ्न र पूँजिगत खर्चको लागि आवस्यक श्रोत जुटाउन समेत कर संकलनको विद्यमान अवस्थामा सुधार हुनु पर्दछ । अपेक्षित राजस्व संकलन हुनको लागि उद्योग व्यवशायमैत्री वातावरण हुनु पर्दछ जसको लागि बजारमा माँगको वृद्धि भई अर्थतन्त्र चलायामान हुनु पर्ने र आर्थिक गतिविधिमा सुधार हुन जरुरी भएकोले यसमा कर प्रशासनको महत्त्वपुर्ण भुमिका रहने विषयमा म यहाँहरुको ध्यानाकर्षण गर्न चाहान्छु ।
नेपालको कर प्रणालीलाई लगानीमैत्री वातवरण निर्माणको लागि आवस्यक रुपमा परिमार्जन, करदातामैत्री बनाउन सकेमा मुलुकमा थप लगानी भित्र्याउन अहम् भूमिका खेल्नेमा दुई मत हुन सक्दैन ।
यदी यस पटकको नारालाई व्यवहारमै कार्यान्वयन गर्न सकियो भने सिमित लगानीको कारण सिथिल भएको आर्थिक क्षेत्र चलायामान भई अपेक्षित लगानी भित्रिई आर्थिक गतिविधि विस्तार हुनुको साथै राजस्व परिचालनमा समेत वृद्धि हुन जान्छ ।
नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सरकारसँग निरन्तर सहकार्य गर्न प्रतिबद्ध छ र गरी रहेको पनि छ । मुलुकका नीति निर्माताहरूसँग सघन सहकार्य गर्दै कर प्रणालीलाई लगानीमैत्री र उत्पादनमुखी बनाउन हामी सदैब क्रियाशील छौं ।
पारदर्शी र प्रभावकारी कर प्रणालीले कर अनुपालनलाई मात्र प्रोत्साहन गर्दैन, यसले आर्थिक वृद्धि र स्वदेशी तथा विदेशी लगानीलाई समेत आकर्षण गर्न उत्तिकै उत्प्रेरित गरीरहेको हुन्छ ।
विद्यमान कर प्रणालीलाई स्वचालित, पारदर्शी र करदातामैत्री बनाई स्वैच्छिक कर सहभागिता एवम् कर अनुपालनमा अभिवृद्धि गर्दै समग्र कर प्रशासनलाई व्यवसायीक, प्रविधिमैत्री, तथा सदाचारी बनाउन आन्तरिक राजस्व विभाग र सबै सरोकारवालाहरूलाई आगामी दिनमा थप उर्जा मिलोस् भनी ध्यानाकर्षण गर्न चाहन्छु ।
अन्तमा यस राष्ट्रिय कर दिवसको पुनित:अवसरमा हामी सबैले आ—आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पुन: प्रकट गरौं र सम्मृद्ध नेपालको निर्माणमा योगदान पुर्याऔं भन्दै सबैमा पुन: एकपटक राष्ट्रिय कर दिवस २०८१ को शुभकामना व्यक्त गर्दछु ।
(कर दिवस २०८१ मा आयोजित कार्यक्रममा एफएनसिसिआईका उपाध्यक्ष श्रेष्ठले राखेको विचार)
प्रतिक्रिया दिनुहोस्