काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोमा परी मरेका पशुचौपायाको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडास्थित किसानलाई पशु–सुरक्षण बीमा रकम प्रदान गरिएको छ ।
कलाँती भूमिडाँडा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानको क्षति भएका भैँसी, गाई तथा बाख्राको सामुहिक बीमा कार्यक्रमअन्तर्गतको किसानलाई रकम प्रदान गरिएको हो ।
संस्थाले २५ किसानलाई सामुहिक पशु बीमा बापतको रु २६ लाख क्षतिपूर्ति वितरण गरिएको सहकारीका संस्थापक अध्यक्ष बसुन्धरा हुमागाँईले जानकारी दिए । उनका अनुसार पशुको क्षति मूल्याङ्कन अनुसार पाँच वटा पशुचौपाया क्षति भएको स्थानीय किसान सुमित्रा थापाले ४ लाख १८ हजार रकम पाएका छन् । क्षतिको मुल्याङ्कनमा कम बीमा रकम पाउनेमा ३० हजारस्म्म पाएका थिए ।
सहकारीले विपद्मा किसानको पशुचौपाया क्षतिमा सहयोग गर्न सकेकोमा खुसी भएको बाग्मती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका हुमागाईंले जानकारी दिए । उनका अनुसार संस्थाको विपद् कोषमा १ करोड २० लाख बिमा रकम सञ्चित रहेको छ । संस्थाले १ लाख बीमा बराबरको वार्षिक १ हजार दुई सय किसानबाट उठाउने गरेको छ । संस्थाले उक्त क्षेत्रका तीन सय विपद् प्रभावित नागरिकलाई सुरक्षित खानेपानीका लागि आधुनिक फिल्टरसमेत वितरण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्