कर प्रणालीको सार, लगानीको आधारू भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रिय कर दिवस २०८१ को अवसरमा सम्पूरण करदाता एवं कर परिवारलाई हार्दिक बधाई एवम् शुभकामना भन्न चाहन्छु। कर दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित हुने करदाता र कर्मचारीहरुलाई हार्दिक बधाई दिन चाहान्छु। आगामी दिनमा पुरस्कारको गरिमा कायम राख्दै राजस्व परिचालनको क्षेत्रमा यहाँहरुले अझ वढी योगदान गर्ने अपेक्षा पनि गरेको छु।
राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको विषय पनि हो। जनताबाट संकलन गरिने कर र त्यसको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने भएकाले वास्तविक कर संकलनमा कर प्रशासनलाई केन्द्रित हुन म यस अवसरमा आग्रह गर्न चाहन्छु।
कर प्रणालीलाई आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक संगठन तथा कार्य विशिष्टिकरणको लागि थप सुधारका पहल कदमी लिन पनि कर परिवारलाई निर्देशन गर्न चाहन्छु।
करको दायरा विस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, कर छली र चुहावट रोक्ने लगायतका कार्यमा थप सक्रियता लिन आवश्यक छ।सूचना प्रविधिको प्रयोगमा विस्तार एवं सोको गुणस्तरीयता र दिगोपना कायम गर्दै समय र लागत न्यून गरी सेवा प्रवाहमा प्रभावकारिताका लागि थप क्रियाशीलता लिन पनि कर प्रशासनलाई निर्देशन गर्दछु।
संघीयताले आर्थिक केन्द्रहरु विस्तार भएका छन, खर्चका युनिटहरु एवं आर्थिक गतिविधिहरु विस्तारित भएका छन, अर्थतन्त्रको आकार वढ्दै गएको छ तर सो अनुपातमा जसरी राजस्व संकलन वढ्नुपर्ने हो सो अनुरुप वढ्न सकेको मैले पाएको छैन। कर्मचारी साथिहरुलाई म जिम्मेवार र जवाफदेहि हिसाबले राजस्व संकलनमा केन्द्रित हुन पनि आग्रह गर्दछु।
साथिहरुलाई जिम्मेवारी दिइएको कार्यसम्पादन सूचकहरुको लक्ष्य र प्रगतीको तुलनात्मक अध्ययन गर्दा प्रगतीको अवस्था सन्तोषजनक रहेको पाउन सकेको छैन् । मैले सरसर्ती २०८० असोज र २०८१ असोजको कार्यसम्पादन सूचकहरुको प्रगतीको अवस्था मूल्यांङ्कन
गर्दा अधिकांश परिसूचकमा गत वर्षको यसै अवधिको जति पनि प्रगती भएको पाउन सकेको छैन् । जस्तै: मू.अ.कर ननफाईलरतर्फ गत असोजमा ३६ प्रतिशत रहेकोमा २०८१ असोजमा बढेर ३८ प्रतिशत पुगेको, कर परीक्षणको संख्या र निर्धारित कर रकम पनि न्यून रहेको, बजारमा बिलिङको अवस्था सन्तोषजनक नपाईंदा तपाईंहरुको बजार अनुगमनको संख्या गत वर्षको यसै अवधिको भन्दा निकै न्यून रहेको पाएको छु। बक्यौता असुली, बेरुजु फर्छ्यौट, आन्तरिक तथा प्रशासकीय पुनरावलोकनको प्रगती लक्ष्य अनुरुप हुन सकेको छैन। यस तथ्यले पनि म साथिहरुको कार्यसम्पादनस्तरमा थप सुधार ल्याउन आवश्यक ठानेको छु ।
हामी अहिले स्रोत व्यवस्थापनको हिसाबले असामान्य अवस्थामा छौं, यस्तोमा साथिहरु सामान्य हिसाबले कार्यसम्पादन गरेर लक्ष्य भेट्न सक्ने अवस्था छैन । राजस्व लक्ष्य हासिल गर्न, कार्यसम्पादन सूचक अनुरुपको प्रगती हासिल गरी विभागीय जिम्मेवारी पूरा गर्न सिंगो कर परिवार एकै दिशा, समान लक्ष्य र तीब्र गतिका साथ कार्यसम्पादनमा लाग्न पनि निर्देशन गर्न चाहन्छु।
सरकारप्रति नागरिकको अपेक्षा बढ्दो छ। सामाजिक सुरक्षा, विकास निर्माण, संघीयता कार्यान्वयन र अन्य अनिवार्य दायित्वका खर्चहरुले स्रोतमाथिको दवाव वढेको छ। विश्व अर्थतन्त्र पनि पछिल्लो समय दवाबमै रहेको हुँदा बाह्य सहायता परिचालनमा उल्लेख्य सुधार हुन सकेको छैन, सार्वजनिक ऋण सेवा खर्च बढ्दो छ। यस्तो अवस्थामा आन्तरिक स्रोत परिचालन प्रभावकारी बनाउनु हाम्रा लागि अनिवार्य रहेकोतर्फ म साथिहरुको विशेष ध्यानाकर्षण गरी जिम्मेवार ढंगले कार्यसम्पादनमा लाग्न आग्रह गर्न चाहन्छु।
म यस अवसरमा निजी क्षेत्रका साथिहरुलाई कर सहभागिता बढाई विकास र समृद्धिको राष्ट्रिय आकांक्षा पुरा गर्ने सरकारको अभियानमा अपेक्षित भूमिका निर्वाह गर्न पनि आग्रह गर्न चाहन्छु। पहिलो कर अधिकृत करदाता स्वयं आफै हो तसर्थ कानून वमोजिम लाग्ने कर आफै गणना गरी दाखिला गर्ने स्वयंकर निर्धारण प्रणालीको प्रभावकारिता वढाउन योगदान गर्नोस यसले कर प्रशासनको मात्र होईन करदाता स्वयंको समेत लागतमा कमी आउंछ, आर्थिक र व्यवसायिक गतिविधिमा पारदर्शिता ल्याई प्रतिस्पर्धालाई समेत प्रवर्धन गर्दछ।
अन्त्यमा, म उत्साहजनक र स्वेच्छिक रुपमा कर सहभागिता बढाउने सम्वन्धमा करदाता र कर प्रशासन दुवै उत्तिकै जिम्मेवार हिसावले लाग्न आग्रह गर्दै पुन: राष्ट्रिय कर दिवस, २०८१ को अवसरमा शुभकामना व्यक्त गर्न चाहन्छु।(कर दिवस समारोहमा उप प्रधान तथा अर्थमन्त्री पौडेलले व्यक्त गरेको विचार)
प्रतिक्रिया दिनुहोस्