काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
प्रथम त्रैमासमा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेकाे छ । कम्पनीले अघिल्लो वर्षकाे सोही अवधिको तुलनामा चालु आवको सोही आवमा १४.२० प्रतिशतले कम नाफा गरेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले सेवा प्रवाह गरेबापत ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष साेही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको आम्दानी १.११ प्रतिशतले बढेको हाे ।
कम्पनीको वित्तीय आम्दानी १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र अन्य आम्दानी २० करोड ६३ लाख रुपैयाँ रहेको छ । १८ अर्ब रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको रिजर्भमा ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३८.६६ रुपैयाँमा, पीई रेसियो २५.८३ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ५३५.०९ रुपैयाँ रहेको छ ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १९ करोड ४२ लाख ४४ हजारले कमी भएको कम्पनीले जनाएको छ । राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्