Shikhar Insurance
National Life

दूधको भुक्तानी दिन नसकेपछि बजारीकरण गर्दै सहकारी

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ३०, शुक्रबार १३:१७
Hyundai
NCELL
NIMB

चितवन । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले किसानबाट सङ्कलन गरेको दूध प्रशोधन र बजारीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । लामो समयसम्म बजारीकरणको समस्या दूध बिक्रीबापत भुक्तानी दिन नसकेपछि सहकारीले सङ्कलित दूध प्रशोधन र बजारीकरणको योजना बनाएको हो ।

जिल्लाका एक सय १५ सहकारीमा दूध सङ्कलन हुने गर्दछ । ती दूध चितवन र बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ । बिक्री भएको दूधको भुक्तानी लामो समयसम्म नपाउँदा किसान प्रभावित भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या आएपछि सङ्घले प्रशोधन र बजारीकरण गर्ने तयारी गरेको बताए । उनका अनुसार सङ्घले साधारणसभाबाट उक्त निर्णय गरेर काम अघि बढाएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा भरतपुरमा चिस्यान केन्द्र बनाउने तयारी गरिएको छ । दुग्ध विकास संस्थानका जिल्लामा रहेका सात चिस्यान केन्द्रबाट दूध सङ्कलन गरी प्रशोधन र बजारीकरण गर्ने तयारी गरिएको बगालेले बताए । कृषि मन्त्रालयसँग यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

दूध प्रशोधन गरेर पाउडरदूध, पनिर, घिउलगायत दुग्धजन्य पदार्थ सहकारीमार्फत बजारमा लैजाने तयारी सङ्घको छ । सङ्घले यसअघि दाना उत्पादन गरेर सहकारीमार्फत कृषकलाई बिक्री गर्दै आएको छ । अध्यक्ष बगालेले भने, ‘दुई–तीन महिनाभित्रमा हामी चक्लेट उत्पादन गर्दछौँ, अरु काम क्रमश: हुँदै जान्छ ।” उनका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ ।’

जसमध्ये एक लाख ५१ हजार सहकारीमार्फत बजारमा जाने गर्दछ । दुग्ध विकास संस्थानसहित २० भन्दा बढी निजी संस्थामा दूध जाने गरेको उनले बताए । यहाँ सङ्कलन भएको दूध काठमाडौँ, पोखरा, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुरलगायत जिल्लामा सञ्चालित निजी डेरीले लैजाने गर्दछन् । जिल्लाका सहकारीको किसानलाई ८० करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

दुग्ध विकास संस्थानको मात्रै ३२ करोडभन्दा बढी भुक्तानी दिन बाँकी छ भने अरु निजी डेरीको हो । कतिपयको जेठ यताको भुक्तानी बाँकी रहेको भन्दै केही डेरीले नियमित भुक्तानी गरे पनि धेरैको भुक्तानी लामो समयसम्म अड्किँदा किसान प्रभावित बनेका बगालेले उल्लेख गरे ।

कतिपय निजी डेरी सञ्चलकले जिल्ला बाहिर चिस्यान केन्द्र सञ्चालन गरी भारतबाट दूध ल्याएर संस्थानलाई दूध गर्नुका साथै गुणस्तरहिन दूधको बजारीकरण गर्दा स्थानीयस्तरमा उत्पादित दूध बिक्रीमा समस्या भएको सहकारी सङ्घका अध्यक्ष बगालेले बताए ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी किसानका समस्या समाधान गर्न सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरणको योजना बनाइएको उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्