काठमाडौं । अधिकांश बैंकहरुले मंसिरमा पनि ब्याजदर घटाएका छन् । शुकबार सार्वजनिक भएको मंसिर महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश वाणिज्य बैंकहरुले घटाएका हुन् ।
कात्तिक महिनामा बैंकहरुको औसत ब्याजदर ६.१८ प्रतिशत कायम रहेको थियो भने मंसिर महिनामा ०.२२ प्रतिशतले औसत घटेर ५.९७ प्रतिशतमा पुगेको छ ।
मंसिर १ गतेदेखि लागू हुने गरि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ११ बैंकले निक्षेप ब्याजदर घटाएका छन् भनेराष्ट्रिया वाणिज्य बैंकको मात्रै ब्याजदर बढेको छ । बैंकको कात्तिकमा ५.८ थियो भने अहिले ६ प्रतिशत रहेको छ ।
मंसिर महिनामा ८ बैंकहरुले अघिल्लो महिनाकै ब्याजदर कायम गरेका छन् र स्ट्यान्डर चार्टर बैंक र सानिमा बैंकले ६.२५ प्रतिशत ब्याजदर दिएर यो महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।
बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धी भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुबिधा पाएका छन् ।
अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्