काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भिड हुने सरकारी कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका छन् । कर्मचारी अभावका कारण केही सरकारी कार्यालयहरूको सेवा प्रवाहमा समस्या आइरहेको गुनासो बढिरहेका बेला मन्त्री गुप्ताले सेवाग्राहीको भिड हुने कार्यालयहरूमा कर्मचारी अभाव हुन नदिने बताएका हुन् ।
तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न नसकिएको उनको भनाइ छ । यद्यपि, नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग भइरहेको जानकारी उनले दिए ।
‘सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालययले कर्मचारी माग गरेका कुनै पनि कार्यालयमा मन्त्रालयमा भएकै कर्मचारीको व्यवस्था गरी अधिक भिड हुने कार्यालयहरू जस्तो: जिल्ला प्रशासन, यातायात, मालपोत, राहदानी विभागलगायतमा पठाउने गरेको छ,’ मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उनले भने ।
‘तर, तीनवटै तहमा दरबन्दी अनुसार ठूलो सङ्ख्यामा कर्मचारी पूर्ति हुन नसकेकाले आवश्यकता अनुसार कर्मचारीको दरबन्दी पूर्ति गर्न सकिएको छैन । त्यसका लागि नीतिगत र व्यवस्थापन तहमा जनशक्तिको कमी हुन नदिने गरी राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका (सहसचिव र उपसचिव) पदका ४१५ पदमा पदपूर्तिका लागि लोकसेवा आयोगमा माग गरिएको छ’ उनले जनाए ।
मन्त्रालयले अहिले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन प्रशासनिक सङ्गठनहरूको संरचनालाई कार्यबोझका आधारमा समयसापेक्ष रूपमा परिवर्तन गर्दै लगेको मन्त्री गुप्ताको भनाइ छ । सङ्घीय मन्त्रालय र कार्यालयमा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) कार्य सम्पन्न गरी समग्रमा सङ्घीय कार्यालयमा २१० वटा दरबन्दी कटौती गरिएको जानकारी उनले दिए ।
यस्तै, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्याउने गरी २५ जना सहसचिवलाई तालिम प्रदान गरी कर्मचारीको क्षमता विकास र कर्मचारी व्यवस्थापनमा मन्त्रालय सक्रिय भएको दाबी उनको छ ।
प्रतिक्रिया दिनुहोस्