Shikhar Insurance
National Life

सिन्धुपाल्चोकमा नदीजन्य पदार्थको ठेक्का लगाउन सास्ती

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २८, बुधबार १३:५४
Hyundai
NCELL
NIMB

सिन्धुपाल्चोक । यहाँका स्थानीय तहले नदीजन्य पदार्थको ठेक्का लगाउन सकिरहेका छैनन् । स्थानीय तहले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) को ठेक्का लगाउन पटकपटक बोलपत्र आह्वानको सूचना प्रकाशित गरे पनि ठेक्का सम्झौता हुन सकेको छैन ।

चालु आर्थिक वर्ष सुरु भएको करिब चार महिना पुगिसक्दासमेत १२ स्थानीय तहमध्ये तीनको मात्रै ठेक्का लागेको छ । मेलम्ची नगरपालिका, बाह्रबिसे र बलेफी गाउँपालिकाले ठेक्का लगाएका हुन् । मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे नगरपालिका तथा ईन्द्रावती, त्रिपुरासुन्दरी, सुनकोसी र बलेफी गाउँपालिकाले ईन्द्रावती र भोटेकोसी नदीबाट नदीजन्य सामग्री उत्खनन गर्दा सोबापत कर सङ्कलन गर्ने गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पटकपटक सूचना प्रकाशित गरे पनि चालु आवमा ठेक्का नलागेको ती स्थानीय तहले जानकारी दिएका छन् । बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी शर्माका अनुसार दुईवर्ष अघि सुनकोशी नदी क्षेत्रको बाह्रबिसेबाट जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खननबापत एक करोडमा ठेक्का आह्वान गरिएको थियो ।

यस वर्षका लागि पुलबाट तल्लो खण्डमा भ्याटबाहेक ७५ लाख र माथिल्लो खण्डमा २८ लाख गरी जम्मा एक करोड तीन लाखमा ठेक्का लागेको उनले जानकारी दिए । गत वर्षको तुलनामा प्रतिघनफिट २ घटाएर ठेक्का आह्वान गरिएको शर्माले उल्लेख गरे ।

बलेफी गाउँपालिकामा गत वर्ष ठेक्का नलागेकामा यस वर्ष स्थानीय सुनिलकुमार श्रेष्ठ, श्रेष्ठ कन्ट्रक्सनको नाममा रु २६ लाखमा ठेक्का परेको छ । बाह्र स्थानीय तहमध्ये सबैभन्दा बढी नदीजन्य पदार्थबाट राजस्व सङ्कलन गर्ने मेलम्ची नगरपालिकामा पनि गत वर्षभन्दा रु १० करोड कम हुने गरी ठेक्का लागेको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।

उनका अनुसार २३ करोड ५२ लाखमा सुदिपा ट्रेनिङ प्रालिलाई उक्त ठेक्का परेको हो । नगरपालिकाले गत वर्ष ३३ करोडमा प्रतिघनफिट ९ का दरले ठेक्का परेकामा चालु आवमा रु दुई घटाउँदा करिब १० करोड नोक्सानी भएको राजस्व शाखा प्रमुख दुलालले बताए ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह चौतारा साँगाचोकगढी नगरपालिकामा पनि ठेक्का लाग्न सकेको छैन । नगरका प्रमुख इञ्जिनियर विकास श्रेष्ठका अनुसार चालु आवका लागि ईन्द्रावतीतर्फ ११ करोड पाँच लाख ७९ हजार एक सय ६१ र सुनकोशीतर्फ दुई करोड ८४ लाख ७३ हजार सात सय २७ को बोलपत्र आह्वान जारी भए पनि ठेक्का लाग्न सकेको छैन ।

गत आवमा ईन्द्रावतीतर्फ १५ करोड ४९ लाख छ हजार सात सय ९४ र सुनकोसीतर्फ चार करोड ७५ लाख ६० हजार दुई सय ९३ मा सम्झौता भएको लागेको थियो । ईन्द्रावती गाउँपालिकाले गत आवमा १२ करोडमा ठेक्का लगाएकामा चालु आवमा प्रतिघनमिटर दुई घटाएर सातौँ पटक आह्वान गर्दा पनि सम्झौता नभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

पालिकामा कार्यरत करारका कर्मचारीलाई आन्तरिक आम्दानीबाट तलब खुवाउने गरिएको भन्दै राजस्व सङ्कलन नभएपछि तलब व्यवस्थापनमा समस्या भइरहेको उनले बताए । त्रिपुरासुन्दरी गाउँपालिकाले २१ लाखमा बोलपत्र आह्वान गरेपनि हालसम्म ठेक्का नलागेको पालिकाका अध्यक्ष भक्तध्वज बोहोराले बताए । सुनकोसी गाउँपालिकाको चालु आवका लागि रु २२ लाखमा बोलपत्र जारी गरे पनि ठेक्का लागेको छैन ।

‘सातौँ पटकसम्म सूचना प्रकाशित गरेका छौँ । घाटघाट अनुसार पनि छुट्ट्याएर ठेक्का निकाल्दासमेत सम्झौता भएको छैन’ सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भने । पालिका प्रशासकीय अधिकृत युगबहादुर खड्काका अनुसार तीन वर्ष अगाडि ६० लाखको ठेक्का लागेकामा त्यसपछि ठेक्का लाग्न सकेको छैन् । सिन्धुपाल्चोकको सुनकोशी, ईन्द्रावती र भोटेकोसी नदी आसपसामा दुई दर्जन बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

पूर्वाधार निर्माण नहुँदा क्रसरले उत्पादन गरेका बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको क्रसर सञ्चालकको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्