Shikhar Insurance
National Life

पाल्पामा ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ अभियान सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ कार्तिक २१, बुधबार १५:४४
Hyundai
NCELL
NIMB

पाल्पा । जिल्लामा रक्तसञ्चार केन्द्र स्थापना गर्न विभिन्न सङ्घसंस्थाबाट रकम सङ्कलन भइरहेको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ‘हाम्रो ब्लड बैंक, हामी बनाउछौँ’ भन्ने अभियान सञ्चालन गरी विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जुटाउन थालेको हो ।

रक्तसञ्चार केन्द्र स्थापना गर्न सञ्चालन गरिएको उक्त अभियानमा ऐक्यबद्धता जनाउँदै यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगमा हालसम्म रु ४५ लाखबढी रकम सङ्कलन भएको शाखाका जिल्ला सभापति बाबुराम कार्कीले जानकारी दिएका हुन् । हालसम्म यशस्कर सदस्यबाट ६ लाख, विशिष्ट सदस्यबाट २२ लाख, स्मृतिकोषबाट ७ लाख, विभिन्न सङ्घसंस्थाबाट ६ लाख ८० हजार, देशबाहिर काम गर्न गएका विभिन्न व्यक्तिबाट ३ लाख ९५ हजार रकम सङ्कलन भएको रेडक्रस कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रक्तसञ्चार केन्द्रको स्थायी भवन निर्माण गर्न सहरी विकास मन्त्रालयबाट १ करोड ५३ लाख र स्वास्थ्य मन्त्रालयबाट भवन तथा उपकरण खरिद गर्न ५० लाख बजेट विनियोजन भएको सभापति कार्कीले बताए । उनका अनुसार सरकारी तथा गैरसरकारी निकायबाट हालसम्म २ करोड ४७ लाख ७५ हजार बराबरको स्रोत सुनिश्चित भएको छ ।

जिल्लाका आठ गाउँपालिकाले ५ लाखका दरले ४० लाख, दुई नगरपालिकाले १० लाखका दरले २० लाख अनुदान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केन्द्र सञ्चालनका लागि ५ करोड ७५ लाख बराबरको रकम आवश्यक पर्ने भएकाले रकम सङ्कलन अभियानमा जोडिन रेडक्रसले सबैमा आग्रह गरेको छ । रेडक्रसले गत चैतदेखि साँझा रुपमा अघि बढाएको उक्त अभियानमा विभिन्न ठाउँमा बसोबास गर्ने पाल्पालीले ऐक्यबद्धता जनाउँदै रकम सहयोग गरिरहेका छन् ।

संस्थाले ३ करोड अक्षयकोषमा राखेर त्यसबाट आउने ब्याज रकमले कर्मचारी र प्रशासनिक खर्च सञ्चालन, बाँकी २ करोड ७५ हजार रकम भवन निर्माण र सामग्री खरिदमा खर्चिने योजना अनुसार रक्तसञ्चार केन्द्र स्थापनाका लागि जोड दिइएको शाखाका उपसभापति भीमसेन कार्कीले बताए ।

उनका अनुसार जिल्ला बाहिर रहेका पाल्पाली समाज पोखरा, पाल्पाली समाज काठमाडौं, लघुवा समाज काठमाडौं तथा विदेशमा रहेका पाल्पाली सेवा समाज कतार, पाल्पाली सङ्गम अमेरिका, नमस्ते पाल्पा परिवार, दक्षिण कोरियाले आर्थिक सहयोग गरिरहेका छन् । जिल्लामा हाल वार्षिक चार हजार युनिट रगतको आवश्यकता पर्दछ । लायन्स क्लब अफ पाल्पाले भुसालडाँडा क्षेत्रमा भवन निर्माणका लागि नि:शुल्क जग्गा प्रदान गरेको छ ।

जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा बिरामीले रगतका लागि सास्ती खेप्नु परिरहेको छ । रेडक्रसले सञ्चालन गरेको अभियानमार्फत यथाशीघ्र केन्द्र स्थापना हुने रेडक्रसले जनाएको छ । यहाँ केन्द्र स्थापना भई सञ्चालनमा आएपछि बिरामीलाई सहज हुनेछ । केन्द्र स्थापनामा नागरिकले उत्साह जनाउँदै स्वत:स्फूर्त रुपमा आर्थिक सहयोग गरिरहेका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्