काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल–भारत सीमाना बन्द गरेर भिसा प्रणाली लागू गर्नुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सुपारीको उत्पादन र निकासीमा भएका समस्याका सम्बन्धमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाल–भारत खुला सीमानाका कारण नेपालमा उत्पादन भएका वस्तुहरु भन्सार बाहिरबाट भारतमा निर्यात हुने गरेको भन्दै सीमानामा पर्खाल लगाउनुपर्ने बताउँदै सुपारी निर्यातको विषय सरकारले टुङ्ग्याउन नसक्नु सरकारको असक्षमता भएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर काम गरिरहेका आरोप लगाए ।
उनले खुला सीमाना बन्द गर्दै भिसा प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै भने, ‘यो सरकारको असक्षमता हो । यहाँ सरकारमा रहेका व्यक्तिहरु नै तस्करहरुसँग मिलेर यो सबै काम गरिराखेका छन् । र कहिल्यै पनि समाधान नहुने गरी समितिमा विषय पठाइदिन्छन् । समितिमा यसरी आउने हो विषय ? विधेयक बनेर आउनुपर्छ । नेपाल र भारतका बिचमा सिमाना खुल्ला छ । हाम्रो देशका ठूल्ठूला पार्टीहरु ५०/६० वर्षदेखि बन्द सिमाना कायम गर भन्दै आएका छन् । भारततिरबाट नेपालतिर पसेर कयौँ मानिस मारिएका छन् ।’
राष्ट्रिय सभा गौतमले मानिसको आवतजावत पनि तोकिएको भन्सार नाकाबाट मात्रै हुनुपर्ने बताए । खुला सीमानाका कारण भारतबाट नेपालमा पसेर व्यक्ति हत्या समेत हुने गरेको भन्दै स्वतन्त्र देशको अवस्था यस्तो हुनु नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्