काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नुमनाथ पौडेललाई पुन: नियुक्त गरेको छ । संस्थाको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कात्तिक १६ गतेदेखि लागु हुने गरी ४ वर्ष अवधिका लागि सीईओमा पुन: नियुक्त गर्ने निर्णय गरेको हो ।
पौडेलको मूख्य व्यावसायिक विशेषज्ञता थोक माइक्रोक्रेडिट, जोखिम व्यवस्थापन, संस्थागत मूल्याङ्कन, उचित परिश्रम, रणनीति विकास र संगठनात्मक क्षेत्रहरूमा छ । पौडेल एचआईएन लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड र निफ्रा बैंक लिमिटेडमा ५ वर्ष गैर कार्यकारी निर्देशक थिए ।
उनीसँग नेपाल र भारतमा चार्टर्ड एकाउन्टेन्टको हैसियतमा लेखापरीक्षण, परामर्श र अन्य सम्बन्धित सेवाहरूमा ५ वर्षभन्दा बढी अनुभव छ । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्टको डिग्री लिएका छन् भने त्रिभुवन विश्वविद्यालय, काठमाडौंबाट एमबीए पनि गरेका छन्।
उनले भारत, हङकङ, ताइवान, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, मलेसियालगायत देशमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी तथा सम्मेलनमा भाग लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्