काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताए ।
उनले मन्त्रालयले दीर्घकालीन समाधानका लागि पनि आफ्ना योजनाहरु बनाइरहेको बताए । मन्त्री यादवले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डरका लागि प्रक्रिया अघि बढाइएको बताए । शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाडौं पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उल्लेख गरे । मन्त्री यादवले काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गरे ।
उनले प्राविधिक समस्याका कारण मन्त्रालयलाई पनि केही समस्या परेकाले नीति, नियमहरु संशोधन गरी अघि बढिरहेको बताउँदै सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाडौं ल्याउने तयारी गरिएको बताए ।
उनले भने, ‘काठमाडौं उपत्यकामा ५१ करोड लिटर पानीको डिमाण्ड छ । त्यो पुर्याउने कसरी ? सरकारको दीर्घकालीन समस्याको योजना के छ ? त्यसको लागि खानेपानी मन्त्रालय अघि बढिसकेको छ । हामी तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट सुन्दरीजलमा टेण्डर हुन गइरहेको छ । त्यो यही १५ दिनभित्र जतिमा हुन्छ । त्यो २५ करोड ५० लाख लिटर मेलम्चीको पानी आयो भने समस्या केही समाधान हुन्छ । अहिले १७ करोड लिटर रहेको छ ।’
‘अहिले ६ दिनमा पानी दिइरहेका थियौँ । कतै त १५ दिनमा पानी दिने गरेको रहेछ । १५ दिनमा पानी दिँदा कसरी नागरिक बाँच्छ । नागरिकप्रति राज्यको दायित्व यही हो । ट्याङ्करमा पानी हाल्न इआइए नचाहिने, सरकारलाई नागरिकका लागि पानी दिन इआइए चाहिने । मन्त्री अलि छिटो छिटो चेन्ज हुने के । मान्छेको दिमागमा मन्त्रीको नाम नै भुलिसकेछन् । तर यो सरकार मजबुत सरकार छ । यो सरकारको आयु लामो छ’ उनले उल्लेख गरे ।
उनले अहिलेको सरकार मजबुत सरकार भएकाले यो सरकारको आयु लामो भएको बताए ।
प्रतिक्रिया दिनुहोस्