Shikhar Insurance
National Life

जडीबुटी व्यवसायबाट मासिक १ लाखबढी आम्दानी गर्दै धरानका महिला

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ७, बुधबार १७:१२
Hyundai
NCELL
NIMB

धरान । धरान उपमहानगरपालिका–१५ मा जडिबुटी व्यवसाय सञ्चालन गरी शेर्पा समुदायका महिलाले मासिक १ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका महिलाले यार्सागुम्बा, चिराइतो, पदमचाल, हर्चो, पाषाणभेद, सतुवा, जेठीमधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिमुरलगायत तीन सयबढी जडीबुटी बिक्री गर्दै आएका छन् ।

करिब २० वर्ष अघिदेखि जडीबुटी व्यवसाय गर्दै आएकी धरान–१५ की फूपुपोंग्सुवा शेर्पाले यही व्यवसायबाट मासिक १ लाखदेखि १ लाख ५० हजारसम्म आम्दानी हुने गरेको जानकारी दिइन् । जडीबुटी बेचेर जीविकोपार्जन हुदैँन भन्नेलाई उनी एक सफल व्यवसायीका रुपमा उदाहरणीय बनेकी छिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पोंग्सुवाले भनिन्, ‘लामो समय जडीबुटी बोकेर हटिया बजारतिर घुम्दै बेच्ने गरिन्थ्यो । अहिले स्थायी रुपमा जडीबुटी बेच्ने व्यवसाय सञ्चालन गरिरहेको छु ।’ सुरुवाती समयमा धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली, पोखरा, रामेछाप, काठमाडौंलगायत ठाउँमा घुमेर जडीबुटी बिक्री गर्ने गरेको बताउँदै उनले अहिले इटहरी उपमहानगरपालिका–६ मा पसल सञ्चालन गरेको जानकारी दिइन् ।

पोंग्सुवाले भनिन्, ‘सुरुमा व्यापार कम थियो, घरखर्च पुर्‍याउन समस्या हुन्थ्यो । अहिले समय फेरिएसँगै व्यापार पनि बढेको छ । परिवारको खर्च, छोराछोरी पढाउन सबै यही व्यापारले पुगेको छ, धरान–१५ बगरकोटमा दुई तले घर पनि बनाएकी छु ।’

पहिले गाउँदेखि सहरसम्म महिनौँदिन लगाएर हिँडेर व्यापार गर्दा खर्च जुटाउन गाह्रो हुने गरेको सुनाउँदै उनले अहिले मासिक १ लाख ५० हजार बढी आम्दानी हुने गरेको जानकारी दिइन् । किमाथाङ्का, सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासा, सिक्किम, दार्जिलिङलगायत भारतका विभिन्न स्थानबाट जडीबुटी खरिद गरेर बिक्री गर्ने गरेको उनले बताइन् ।

‘सामान खरिद गर्न कहिले आफैँ जाने गरेको छु भने कहिले अनलाइन मगाउने (अर्डर) गरेपछि गाडीमार्फत आउँछ’ पोंग्सुवाले भनिन् । जडीबुटी बेच्न अनुमतिपत्र (लाइसेन्स) लिइसकेपछि अहिले व्यवसाय सञ्चालनमा सहजता आएको उनले बताइन् । नगरपालिकाले हरेक वर्ष औषधि व्यापारसम्बन्धी तालिम दिने गरेकाले थप हौसला प्राप्त भएको उनको भनाइ छ ।

उनी जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ स्थित टेङ्ग्रा खोलाको नजिकै रहेको पुल किनारको खुल्ला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गरिरहेको अवस्थामा भेटिए । उनले बिक्रीका लागि विभिन्न प्रकारका जडीबुटी आकर्षक देखिनेगरी खोला किनारमा लहरै राखेका छन् । उनले भने, ‘१८ वर्षदेखि यही व्यापार गर्दै आएको छु, सबै खर्च कटाएर मासिक ६० हजारबढी आम्दानी हुने गरेको छ ।’

पुर्खौली घर सङ्खुवासभा भएको बताउँदै आचुङ्माले १५ वर्षअघि व्यापार गर्ने उद्देश्यले धरान झरेको जानकारी दिए । ‘हाम्रा पूर्खाहरुले पहिले हिमाली भेगको लेकतिर जडीबुटी सङ्कलन गरेर हिउँदमा बिक्री गर्न मधेसतिर झर्ने र बर्खा लागेपछि घर फर्किनुहुन्थ्र्यो’ उनले भने, ‘पहिले गाउँमा अस्पताल, सडक नहुँदा यहाँका शेर्पा र भोटे समुदायले जडीबुटी व्यापार गर्दै आएका थिए । पुर्खाको पेसालाई अहिले हामीले पनि निरन्तरता दिएका छौँ ।’

अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएकाले माग पनि बढी हुने गरेको आचुङ्माले बताए । ‘काठमाडौं, विराटनगर, मोरङ, झापालगायत ठाउँबाट फोन गरेर जडीबुटी माग गर्नुहुन्छ’ उनले भने ।

इटहरीको पूर्वतर्फ हटिया खोलाको किनारमा व्यापार गर्दैगर्दा भेटिएका धरानका दावा शेर्पाले १० वर्षदेखि जडीबुटी बिक्री गर्दै आएको बताए । ‘यही व्यापारले बिहान–बेलुका खान पुगेको छ । मेहनत अनुसारको आम्दनी राम्रो छ । दैनिक ५ हजारदेखि १० हजारसम्म आम्दानी हुने गरेको छ’ उनले भने ‘जडीबुटीको मूल्य पनि धेरै महँगो छैन, पाँचदेखि पाँच सयसम्ममा पाइन्छन् ।’

दावाले नेपालका विभिन्न ठाउँ र भारतबाट जडीबुटी आउने गरेको बताए । उनले भने, ‘अन्य पेसामा ज्ञान नभएकाले जडीबुटी व्यवसाय रोजेको हुँ । सस्तोमा पाँचदेखि तीन हजारसम्मका जडीबुटी बिक्री हुन्छन् ।’ उनका अनुसार पसलमा अहिले दुई सयबढी किसिममा जडीबुटी छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्