काठमाडौं । चार तारे र पाँच तारे स्तरका होटलहरुले अनिवार्य रुपमा काँच र धातुको पानी बोतल प्रयोग गर्नुपर्ने भएको छ । प्लास्टिकको बोतलले मानव स्वास्थ्यमा असर गरेको भन्दै पर्यटन विभागले सबै होटलहरुलाई परिपत्र गरेको हो ।
ठूला होटलहरुले प्लास्टिकको बोतल प्रतिस्थापन गर्दा वातावरण र मानव स्वास्थ्यमा समेत फाइदा पुग्ने विभागको निष्कर्ष छ । कात्तिक ५ गते परिपत्र गर्दै विभागले भनेको छ, ‘यस विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरु प्रयोगमा आइरहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काललाई कम्तिमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन हुन विभागको मिति २०८१/०७/०५ को निर्णयानुसार जानकारी गराईएको व्यहोरा अनुरोध छ ।’
अब चार तारे माथीका होटल तथा रिसोर्टहरुले प्लास्टिकको बोतलको प्रयोग गर्न पाउने छैनन् । विभाग महानिर्देशकमा डा.नारायण रेग्मी आएपछि विभिन्न सुधारको कामहरु गरिरहेका छन् । यसअघि पशुपति नाथ दर्शन गर्न आउने विदेशी नागरिकलाई छुट्टै लाइन बनाएर दर्शनको व्यवस्था गर्न विभागले पत्राचार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्