Shikhar Insurance
National Life

उपचारमा रगत अभाव हुन नदिन ‘सघन रक्तदान’ आयोजना

सिंहदरबार संवाददाता
२०८१ कार्तिक ५, सोमबार १८:०२
Hyundai
NCELL
NIMB

महोत्तरी । चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

दसैँताका अस्पतालहरूमा माग गरेबमोजिम रगत आपूर्ति नहुँदा भोगेका समस्यालाई दृष्टिगत गर्दै तिहार र छठका समयमा रगतको सहज आपूर्तिका लागि विभिन्न ठाउँमा रक्तदान अभियान आयोजना तथा संयोजन गरिएको रेडक्रस बर्दिबासका उपसभापति रेवन्त कार्कीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसपालि दसैँमा उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा पर्याप्त रगत नहुँदा आकस्मिक रूपमा रक्तदाता खोजेर बिरामीलाई दिनु परेको उनले सुनाए । यसै अवस्थालाई दृष्टिगत गर्दै तिहार र छठका बीचमा उपचार कार्यमा रगत अभाव हुन नदिन हाल विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको संयोजन भइरहेको र हालसम्म दुई सय पिन्ट रगत सङ्कलन गरिएको उपाध्यक्ष कार्कीले जानकारी दिए ।

कात्तिक लागेको गत बिहिबारयता वित्तीय तथा सामाजिक सङ्घसंस्थाहरुले एकपछि अर्को रक्तदान कार्यक्रम आयोजना गरीरहेका छन् । यस क्रममा आइतबारसम्म दुई सय २५ पिन्ट सङ्कलन भएको रेडक्रस बर्दिबास उपशाखाले जनाएको छ ।

‘हाल विभिन्न ठाउँमा कार्यक्रम भइरहेका छन्, अझै दुई/तीन दिनसम्म रक्तदानका कार्यक्रम तय गरेका छौँ’ उपशाखाको रक्तसञ्चार केन्द्र प्राविधिक शाखा प्रमुख सिर्जना देवकोटा भन्छिन् ‘अब छठसम्मै यस भेगका कुनै पनि अस्पताल र बिरामीले उपचारमा रगतको अभाव खेप्नु पर्दैन ।’

जिल्लामा रक्तसञ्चार केन्द्र सञ्चालन गर्ने रेडक्रस बर्दिबास उपशाखा मात्र रहेको छ । यस उपशाखाले पछिल्लो एक वर्षयता महिनामा करिब तीन सय पिन्ट रगत अस्पतालहरूलाई पठाउँदै आएको छ । यसपालि दसैँमा रगतको केही अभाव भएपछि तिहार र छठमा सो समस्या दोहोरिन नदिन आवश्यक सतर्कता अपनाइएको प्राविधिक शाखा प्रमुख देवकोटाको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्