Shikhar Insurance
National Life

नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ: परराष्ट्रमन्त्री देउवा

सिंहदरबार संवाददाता
२०८१ कार्तिक १, बिहीबार १४:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छिन् । नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएकी हुन् ।

परराष्ट्रमन्त्री डा देउवाले भनिन्, ‘कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन् । अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप–२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उनको भनाइ थियो ।

‘नेपालजस्ता राष्ट्रहरू जुन वैश्विक हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्छन्, ती जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय हो’ मन्त्री डा देउवाले भनिन् ‘जलवायु सङ्कट निम्त्याउने कार्य गर्ने विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत, प्रविधि र अन्य सहयोग प्रदान गर्नुपर्छ ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनलाई गम्भीरता साथ लिएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै हानि र नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएको जानकारी गराए ।

उनले भने, ‘जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगण्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।’ नेपालले सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौताअनुमोदन गर्नाका साथै आफ्नो प्रतिबद्धताहरु पूरा गर्दै आएको उनको भनाइ थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्