Shikhar Insurance
National Life

सय शय्याको विशेष अस्पताल निर्माण गरिने

सिंहदरबार संवाददाता
२०७८ असार ३, बिहीबार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौँ महानगरपालिकाले विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको  ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने भएको छ । महानगरपालिकाले आज आगामी आर्थिक वर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा नगर प्रमुख विद्यासुन्दर शाक्यले ज्येष्ठ नागरिकको उपचार गर्न विशिष्टीकृत सेवासहितको सुविधासम्पन्न १०० शय्याको  ‘काठमाडौँ महानगर विशेष अस्पताल’ निर्माण गर्ने उल्लेख गरेका छन् ।

प्रमुख शाक्यले आज नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा महानगरपालिकाले कोभिड–१९ लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्योपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेशन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्टलगायतका सेवा निःशुल्क उपलब्ध गराइने पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

त्यस्तै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गरिनेछ । विशेषज्ञ चिकित्सकद्वारा नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ । “नेपाल एम्बुलेन्स सेवाले प्रदान गर्दै आएको सेवाको प्रभावकारिता अध्ययन गरी एम्बुलेन्स सेवालाई निःशुल्क, सरल र पहुँचयोग्य बनाइनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरवासीका लागि बीमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराउने पनि कामपाले नीति लिएको छ । कामपा क्षेत्रभित्र रहेका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाइन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्धति, प्रक्रिया, संलग्न जनशक्तिको सरसफाइ र सेवाग्राहीले खाना तथा खाजा उपभोग गर्ने स्थलसमेतको समग्र मूल्याङ्कन गरी त्यस्ता सेवा प्रदायकको सेवाको गुणस्तर सुनिश्चित गर्न सूचीकृत एवं वर्गीकरण गरी महानगरपालिकाले प्रमाणपत्र जारी गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्