एजेन्सी । के हाम्रो सौयमण्डलमा जीवनलाई समर्थन गर्न सक्ने अन्य कुनै ठाउँ छ ? यो पत्ता लगाउन पहिलो विस्तृत कदम चाल्न एउटा भव्य नासा यान सोमबार साढे पाँच वर्षको यात्रामा बृहस्पतिका धेरै चन्द्रमामध्ये एक युरोपा जान तयार छ ।
युरोपा क्लिपर मिसनले अमेरिकी अन्तरिक्ष एजेन्सीलाई चन्द्रमाको बारेमा नयाँ विवरण पत्ता लगाउन अनुमति दिनेछ । यसमा वैज्ञानिकहरूले यसको बर्फिलो सतहमुनि तरल पानीको महासागर हुनसक्ने विश्वास गरेका छन् ।
फ्लोरिडाको केप क्यानाभरलबाट शक्तिशाली स्पेसएक्स फाल्कन हेभी रकेटमा प्रक्षेपण तालिका बनाइएको नासाले विज्ञप्तिमा बताएको छ । “युरोपा पृथ्वी बाहिर जीवन खोजी गर्ने सबैभन्दा आशाजनक स्थानमध्ये एक हो”, नासाकी अधिकारी जिना डिब्रासियोले गत महिना पत्रकार सम्मेलनमा भनिन् ।
मिसनले सीधै जीवनको सङ्केतहरू खोज्ने छैन बरु ‘के युरोपामा जीवन उपस्थित हुन दिने तत्वहरू छन् ?’ भन्ने प्रश्नको जवाफ खोज्नेछ । यदि छ भने अर्को मिसनले त्यसपछि यसको पत्ता लगाउने प्रयास गर्न यात्रा गर्नुपर्नेछ । “यो हाम्रा लागि मङ्गल ग्रहजस्तै अर्बौं वर्षअघि बसोबासयोग्य हुनेसक्ने संसारको अन्वषेण गर्ने अवसर होइन”, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक कट निबुरले गत महिना पत्रकारहरूसँग भने ।
“तर एउटा संसार जो अहिले नै बसोबासयोग्य हुनसक्छ ।” यान अन्तरग्रहीय अन्वेषणका लागि नासाले अहिलेसम्म डिजाइन गरेको सबैभन्दा ठूलो हो । बृहस्पतिसमम पुग्ने कमजोर प्रकाश समात्न डिजाइन गरिएको ३० मिटर चौडा यसका विशाल सौर्य प्यानलहरू पूर्ण रूपमा विस्तारित हुन्छन् ।
आदिम जीवन
युरोपाको अस्तित्व सन् १६१० देखि थाहा भए पनि पहिलो नजिकका तस्बिरहरू सन् १९७९ मा भोयेजर यानहरूले लिएका थिए । यसले सतहमा रहस्यमय रातो रेखाहरू क्रस गरेको देखाएको थियो । बृहस्पतिको बर्फिलो चन्द्रमामा पुग्ने अर्को यान सन् १९९० को दशकमा नासाको ग्यालिलियो यान थियो ।
उक्त यानले चन्द्रमामा एउटा महासागर हुने सम्भावना अधिक रहेको पत्ता लगाएको थियो । यसपटक युरोपा क्लिपर यानले क्यामेराहरू, एउटा स्पेक्ट्रोग्राफ, राडार र चुम्बकीय शक्तिहरू मापन गर्न एउटा म्याग्नेटोमिटरसहित परिष्कृत उपकरणहरू बोक्नेछ ।
मिसनले युरोपाको बर्फिलो सतहको संरचना, यसको गहिराइ र यसको महासागरको लवणतासमेत निर्धारण गर्न प्रयास गर्नेछ । जीवनका लागि आवश्यक पानी, ऊर्जा र केही रासायनिक यौगिकहरू जस्ता तीन तत्व उपस्थित छन् कि छैनन् भनेर बुझ्नु पनि यस मिसनको उद्देश्य हो ।
यदि यी अवस्थाहरू युरोपामा अवस्थित छन् भने जीवन आदिम ब्याक्टेरियाका रूपमा महासागरमा पाइन सक्ने मिसनकी उपपरियोजना वैज्ञानिक बोनी बुरट्टीले बताउनुभयो । “यदि युरोपा बसोबासयोग्य छैन भने ? भन्ने प्रश्नले हामीले किन यस्तो सोच्यौँ र यो किन त्यहाँ छैन ? भन्नेबारे प्रश्नहरूको समृद्धि खोल्नेछ”, नासाकी सहयोगी प्रशासक निक्की फक्सले भनिन् ।
४९ फ्लाइबा
यानले बृहस्पतिसम्मको यात्रामा दुई अर्ब ९० करोड किलोमिटर यात्रा गर्नेछ र सन् २०३० अप्रिलमा आइपुग्ने अपेक्षा गरिएको छ । मुख्य मिसन अर्को चार वर्षसम्म चल्नेछ । यानले युरोपामाथि ४९ वटा नजिकका फ्लाइबाहरू बनाउनेछ र सतहबाट २५ किलोमिटर माथिसम्म आइपुग्नेछ ।
यसले प्रत्येक पासमा करोडौँ छातीको एक्स–रे बराबर तीव्र विकिरणको सामना गर्नेछ । करिब एक दशकदेखि पाँच अर्ब २० करोड डलरको मिसनमा करिब चार हजारले काम गरिरहेका छन् । नासाले सङ्कलन गरिने डाटाको महत्त्वले यो लगानीलाई न्याय दिने बताएको छ ।
“यदि हाम्रो सौयमण्डलमा दुई बसोबासयोग्य संसार (युरोपा र पृथ्वी) को घर हुन पुग्यो भने यस नतिजालाई यस आकाशगङ्गाका अर्बौं अन्य सौयमण्डलमा विस्तार गर्दा त्यसको अर्थ के हुन्छ भनेर सोच्नुहोस्”, युरोपा क्लिपर कार्यक्रमका वैज्ञानिक निबुरले भने ।
“युरोपामा ‘के जीवन छ ?’ भन्ने प्रश्नलाई एकातिर राख्दा, बसोबासयोग्यताको प्रश्नले आफैँमा आकाशगङ्गामा जीवनको खोजीका लागि एउटा विशाल प्यारा–डाइम खोल्छ ।” युरोपा क्लिपरले युरोपियन स्पेस एजेन्सी (इएसए) को ज्युस यानसँगै काम गर्नेछ ।
उक्त यानले बृहस्पतिका अन्य दुई चन्द्रमा गानिमेड र क्यालिस्टोको अध्ययन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्