काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल—दक्षिण कोरियाबीचको सम्बन्ध सहयोगपूर्ण रहेको बताएका छन् । बुधबार काठमाडौंमा नेपाल-दक्षिण कोरियाबीच कुटनीतिक सम्बन्ध कायम भएको ५० औं वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् ।
उनले दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको उल्लेख गरे । उनले नेपाल र कोरियाबीच भएका उच्चस्तरीय सरकारी भ्रमण, व्यापारिक तथा सांस्कृतिक आदानप्रदान र दुई पक्षिय सम्झौताहरुले सम्बन्धलाई बलियो बनाएको बताए ।
उनले दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे ।
उनले दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत नेपाली युवाहरुलाई वैदेशिक रोजगारीमा अवसर प्रदान गरेको र नेपालमा रेमिट्यान्स आप्रवाहलाई थप बलियो बनाएको बताए ।
उनले भने, ‘दुई देशबीच सन् १९७४ मा स्थापना भएको कुटनीतिक सम्बन्ध लामो समयदेखि मैत्रीपूर्ण, पारस्परिक, समान सहकार्यमा आधारित र विभिन्न क्षेत्रमा सहयोगपूर्ण रहेको छ । दुवै देशले एशियाली क्षेत्रको शान्ति र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । कोरिया सरकारले नेपाललाई विकास साझेदार मुलुकको प्राथमिक सूचिमा राखेर विभिन्न क्षेत्रहरुमा विकास, साझेदार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।’
सभामुख घिमिरेले नेपालमा वैदेशिक लगानीको वातावरणलाई विश्वसनीय बनाउन कोरियाली कम्पनीहरुको भुमिका स्मरणयोग्य रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्