Shikhar Insurance
National Life

अवरुद्ध भएका तीनवटा सडक सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १४, सोमबार १०:४८
Hyundai
NCELL
NIMB

बागमती । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौं र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे र मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडक आज बिहानबाट खुलेका छन् । यस्तै त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौं जाने सडक आइतबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । सो सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भिमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्ण रूपमा अवरुद्ध छ ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खसेर कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडकखण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी–मार्खु भित्री सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोका कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध छ ।

भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । अवरुद्ध अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्