काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले वैदेशिक लगानीलाई एकद्वार प्रणालीमार्फत प्रवर्द्धन गर्न लगानी बोर्डलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्तो बताएका हुन् ।
उनले लगानी बोर्डलाई वैदेशिक लगानी तथा स्वदेशी लगानी प्रवर्द्धन गर्ने विशेष अधिकार दिनेगरी कानूनी व्यवस्था गर्न जरुरी रहेको बताए । उनले लगानी बोर्डले लगानीकर्ताहरुले अपेक्षा गरेको एकद्वार सर्भिस सेन्टरको बारेमा कुरा गर्न थालेको १२ वर्ष भएपनि अहिलेसम्म कार्यान्वयन गर्न नसकेको बताए ।
उनले लगानी बोर्ड र नेपाल राष्ट्र बैंकमार्फत गर्ने व्यवस्थामा पनि स्पष्ट नीति नभएको कारण समस्या रहेको बताए । उनले बोर्डकै फ्रेमवर्कबाट राष्ट्र बैंकबाट जनशक्ति आउने र काम गर्न पनि कहाँबाट प्रवेश गर्ने र कसरी टुङ्गिने भन्ने नीतिगत रुपमा स्पष्ट नरहेको बताए ।
उनले आयोजनाहरुको एआइए गर्न बोर्डबाट तत्काल खोजे पनि त्यसको लागि स्पष्ट नीति आवश्यक रहेको जानकारी दिए । उनले लगानी बोर्डलाई सुपर पावर अधिकार सम्पन्न निकाय बनाउने गरी काम थालनी भएको बताए । उनले पुन: निर्माणको काम आवश्यक सम्पूर्ण अधिकार प्राधिकरणलाई हुँदा सहज रुपमा पुन:निर्माणको काम सफल भएको भन्दै लगानी बोर्डलाई पनि त्यही रुपमा लैजान आवश्यक रहेको बताए ।
उनले लगानी बोर्डमार्फत गर्ने एकद्वार प्रणाली बनाउनको लागि कानूनमा विशेष खालको व्यवस्था गर्नुपर्ने आवश्यक रहेको जानकारी दिए । एकद्वार प्रणालीको लागि गाइडलाइन र प्राविधिक क्षेत्रहरुमा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले लगानी बोर्डमार्फत वैदेशिक लगानी प्रवर्द्धन गर्नको लागि नेपालका कुटनीतिक नियोगसँग समन्वय गर्ने वातावरण बनाइने बताए । उनले लगानी बोर्ड लगानी प्रवर्द्धनको एजेन्सी मात्रै नभई पब्लिक प्राइभेट पाटनरसिपको अधिकार सम्पन्न निकाय बनाउने हिसावको ऐनमा व्यवस्था गरिने बताए । बोर्डले तीन वटै सरकारसँग सार्वजनिक—निजी साझेदारीको समग्र आर्थिक प्रणाली विकास गर्ने कुरामा काम गर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्